अमेरिका–इरान वार्ता अन्योलमा, दुवै पक्षको कडा अडान

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २८, शनिबार ०७:३३
सांकेतिक फोटो ।

एजेन्सी । अमेरिका र इरानबीच सम्बन्ध सुधार गर्ने उद्देश्यसहित पाकिस्तानको राजधानी इस्लामाबादमा हुन लागेको उच्चस्तरीय शान्ति वार्ता सुरु हुनुअघि नै जटिल बन्दै गएको छ ।

एकातिर अमेरिकी नेतृत्वले कडा चेतावनी दिइरहेको छ भने अर्कोतर्फ इरानले आफ्ना स्पष्ट सर्तहरू अघि सारेपछि वार्ताको सफलतामाथि गम्भीर आशंका उत्पन्न भएको हो । संसद्का सभामुख मोहम्मद बाकर गालिबाफ र विदेशमन्त्री अब्बास अराक्चीले नेतृत्व गरेको इरानको प्रतिनिधिमण्डल शुक्रबार इस्लामाबाद पुगेको छ।

Advertisement

करिब ७० सदस्यीय उक्त टोलीमा सुरक्षा, कूटनीति, अर्थतन्त्र र सञ्चार क्षेत्रका विज्ञहरू सहभागी छन् । उनीहरूको सहभागिताले वार्ता औपचारिक संवाद नभई बहुआयामिक विषयमा केन्द्रित हुने संकेत दिएको छ ।

तर, वार्ता सुरु हुनुअघि नै इरानले केही महत्वपूर्ण सर्तहरू अघि सारेको छ । इरानले अमेरिकाले रोक्का राखेका आफ्ना सम्पत्ति फुकुवा गर्नुपर्ने, साथै लेबनानलगायत क्षेत्रीय द्वन्द्वहरूमा तत्काल युद्धविराम लागू गर्नुपर्ने माग राखेको छ ।

इरानी सभामुख गालिबाफले अमेरिकाले पहिले गरेका प्रतिबद्धता पूरा नगरेसम्म वार्ता सुरु नहुने स्पष्ट सन्देश दिएका छन् । उनले अमेरिकाप्रति विश्वास नरहेको पनि बताएका छन् ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने निकै कडा प्रतिक्रिया दिएका छन् । उनले इरानलाई लक्षित गर्दै वार्ता नै उसको अस्तित्वसँग जोडिएको विषय भएको बताएका छन् । उनको अभिव्यक्तिले वार्ताको वातावरण थप तनावपूर्ण बनेको छ । उनले इरानीहरु बाँचेकै वार्ताका लागि भनेर अभिव्यक्ति दिएका छन् ।

हालै भएको सैन्य टकरावपछि घोषणा गरिएको अस्थायी युद्धविरामले केही राहत दिएको भए पनि अवस्था अझै संवेदनशील छ । विशेषगरी इरानले होर्मुज जलडमरूमा कायम राखेको नियन्त्रणका कारण विश्व ऊर्जा आपूर्ति प्रभावित भएको छ । यो जलमार्गमार्फत विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुने भएकाले यहाँको अवरोधले अन्तर्राष्ट्रिय बजारमा महँगी बढाएको छ ।

यसैबीच, इजरायल र इरान समर्थित समूह हिज्बुल्लाहबीचको संघर्ष अझै जारी छ । यसले वार्तालाई थप जटिल बनाएको छ । अमेरिकाले यस द्वन्द्वलाई मुख्य वार्ताबाट अलग राख्न खोजे पनि इरानले यसलाई समग्र क्षेत्रीय अवस्थासँग जोडेर हेरेको छ ।

इरानका नयाँ सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति अमेरिकाले दिनुपर्ने माग राखेका छन् । साथै, आक्रमणमा संलग्न पक्षहरूलाई कारबाही नगरी नछाड्ने चेतावनी दिएका छन् ।

अमेरिकी पक्षबाट वार्ताको नेतृत्व गर्न लागेका उपराष्ट्रपति जेडी भान्सले वार्ताबाट सकारात्मक नतिजा आउने अपेक्षा व्यक्त गरेका छन् । तर, इरानले कुनै प्रकारको चालबाजी गरे कडा रूपमा प्रस्तुत हुने उनले बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले यस वार्तालाई अत्यन्त महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् । उनले सबै पक्षलाई लचकता अपनाएर सहमति खोज्न आग्रह गरेका छन् ।

यो वार्ता दुई देशबीचको सम्बन्धमा सीमित छैन । यसले मध्यपूर्वको शक्ति सन्तुलन, विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । तर, दुवै पक्षको कडा अडान, आपसी अविश्वास र क्षेत्रीय तनावका कारण वार्ता सफल हुने सम्भावना अझै अनिश्चित देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.