
इस्लामावाद।अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच हुन लागेको ऐतिहासिक उच्चस्तरीय वार्ताका लागि पाकिस्तानले सुरक्षा र व्यवस्थापकीय तयारीलाई चरम अवस्थामा पुर्याएको छ। वार्ताका लागि इरानी टोली इस्लामावाद पुगिसकेको छ भने अमेरिकी टोली पनि त्यसतर्फ प्रस्थान गरिसकेको छ।
अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानको नेतृत्व त्यहाँका संसद्का सभामुख मोहम्मद बगर गालिबाफले गरिरहेका छन्। दुई कट्टर प्रतिद्वन्द्वी मुलुकका उच्च अधिकारीहरूलाई एउटै टेबुलमा ल्याउन पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र विदेशमन्त्री मोहम्मद इसाक दारले लामो समयदेखि कूटनीतिक कसरत गरिरहेका थिए।
सुरक्षा र व्यवस्थापनको विशेष तयारी:
स्थानीय बिदा र सुरक्षा परिचालन: वार्ताको व्यवस्थापनलाई सहज बनाउन जुम्ल्याहा सहर इस्लामावाद र रावलपिन्डीमा स्थानीय बिदा घोषणा गरिएको छ। सुरक्षाका लागि ‘ब्लु बुक’ भीभीआईपी प्रोटोकलअन्तर्गत प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ।
होटल र नाका सिल: रेड जोनमा रहेको पाँचतारे होटल सेरेना पूर्ण रूपमा प्रतिनिधिमण्डलका लागि मात्र आरक्षित गरिएको छ। इरानी र अमेरिकी टोलीको बसाइका क्रममा राजधानी प्रवेश गर्ने धेरै नाकाहरू सिल गरिनेछ।
हाई अलर्टमा अस्पताल: आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै उद्धार सेवा र अस्पतालहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ। इस्लामावाद प्रहरीले एक्सप्रेस राजमार्गमा सवारी साधनहरू अन्यत्र मोडेर ट्राफिक एडभाइजरी जारी गरेको छ।
पाकिस्तानको तटस्थता र दुवै पक्षसँगको पुरानो सम्बन्धका कारण यो संवाद सम्भव भएको विश्लेषण गरिएको छ। यस वार्ताले क्षेत्रीय तनाव कम गर्न र विश्व राजनीतिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।



















