बन्दुकधारीको आक्रमणमा ११ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २९, आइतबार १२:३८

एजेन्सी । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा बन्दुकधारीको आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । शुक्रबार एन्जिल जिल्लाको देह मेहरी गाउँनजिक रहेको पिकनिक स्थलमा अज्ञात समूहले अन्धाधुन्ध गोली चलाउँदा सुरुवातमा चार जनाको ज्यान गएको थियो ।

पछि घाइतेमध्ये थप सात जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ११ पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय अधिकारीका अनुसार आक्रमण दिउँसो करिब ३ बजे भएको थियो ।

Advertisement

मोटरसाइकलमा आएका बन्दुकधारीहरूले भिडभाड भएको स्थानलाई लक्षित गरी अचानक गोली प्रहार गरेका थिए । घटनामा घाइते भएका अन्य व्यक्तिहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये दुई महिला पनि रहेका छन् ।

चिकित्सकहरूले मृतक तथा घाइतेहरू सिया मुस्लिम समुदायका भएको बताएका छन् । अफगानिस्तानमा अल्पसंख्यक रहेको यो समुदाय विगतमा पनि पटकपटक लक्षित आक्रमणको सिकार हुँदै आएको छ ।

तालिबान प्रशासनका स्थानीय अधिकारीहरूले घटनालाई आतंकवादी आक्रमणको रूपमा व्याख्या गरेका छन् । सुरक्षाकर्मीहरूले एक जना संदिग्धलाई नियन्त्रणमा लिएको जनाइएको छ । तर, हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । घटनापछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.