
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) यूएईविरुद्ध दुई खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा टोली मैदान उतारेको छ । टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् ।
यस सिरिजमा रोहित पौडेल, सोमपाल कामी र करण केसीजस्ता अनुभवी खेलाडीलाई समावेश गरिएको छैन । क्यानले नयाँ संयोजन र युवा खेलाडीलाई अवसर दिने उद्देश्यले टोली चयन गरेको जनाएको छ ।
यो खेल नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाइटमा भइरहेको अन्तर्राष्ट्रिय टी–२० खेल हो । यसले घरेलु क्रिकेट संरचनामा नयाँ अध्याय थपेको मानिएको छ ।
नेपालले घरेलु मैदानको फाइदा उठाउँदै सिरिज जित्ने लक्ष्य राखेको छ । यूएई पनि बलियो चुनौती दिने तयारीमा छ । सिरिजको दोस्रो खेल मंगलबार हुनेछ ।



















