
काडमाडौं । सरकारले देशभरका विमानस्थलहरूमा लाग्दै आएको अत्यधिक पार्किङ शुल्क पुनरावलोकन गर्न समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोदप्रसाद न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको हो । समितिलाई तीन दिनभित्र पार्किङ शुल्क संशोधनको प्रस्ताव तयार गर्न निर्देशन दिइएको छ ।
विमानस्थल प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले शुल्क अत्यधिक भएको भन्दै लगातार गुनासो गरेपछि सरकारले यो कदम चालेको हो । मन्त्रालयले शुल्क प्रणालीलाई यथार्थपरक र यात्रुमैत्री बनाउने उद्देश्य रहेको जनाएको छ ।
विमानस्थलहरूमा असुल गरिँदै आएको दरप्रति व्यापक असन्तोष व्यक्त हुँदै आएको थियो ।



















