
विराटनगर । पूर्वी नेपालको तराईका जिल्लाहरु मोरङ, झापा र सुनसरीमा पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको लागुऔषध कारोबार, दुर्व्यसन र गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले प्रहरीले एकैसाथ सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अभियानले उल्लेखनीय परिणाम दिएको छ ।
तीनै जिल्लामा सञ्चालन गरिएको विशेष प्रहरी कारबाहीका क्रममा जम्मा २५४ जनालाई नियन्त्रणमा लिइएको छ । लागुऔषध कारोबार, दुर्व्यसन र गुण्डागर्दीमा संलग्नहरु एकैपटक ठूलो संख्यामा पक्राउ पर्नुलाई सुरक्षाको दृष्टिले महत्वपूर्ण मानिएको छ ।
मोरङमा जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूले वैशाख ९ गते बेलुका ६ बजेबाट वैशाख ११ गते शुक्रबार बिहान ६ बजेसम्म लगातार सञ्चालन गरेको अभियानमा ७२ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लागुऔषध बिक्री वितरण गर्ने, सञ्चय गर्ने, गुण्डागर्दीका माध्यमबाट टोल समाजमा आतंक मच्चाउने, धम्की दिने, रातिको समयमा शंकास्पद रूपमा हिँडडुल गर्ने तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालले बताए ।
समाजमा अराजकता फैलाउने र शान्ति सुरक्षामा प्रत्यक्ष असर पार्ने गतिविधि नियन्त्रण गर्नु अभियानको मुख्य उद्देश्य रहेको दाहालको भनाइ छ । पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको र कसुरको प्रकृति अनुसार कानुनी प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए ।
मोरङमा पछिल्लो समय विशेषगरी सहरी क्षेत्रहरूमा लागुऔषध प्रयोग र साना ठूला आपराधिक समूह सक्रिय बन्दै गएको सूचना पाएपछि प्रहरी आक्रामक बनेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार अझै तीव्र बनाएर कारबाहीलाई निरन्तरता दिइने छ ।
यसैबीच, झापामा पनि लागुऔषध दुर्व्यसन र ओसारपसार नियन्त्रणका लागि सञ्चालन गरिएको ‘स्वीप अप्रेसन’ अन्तर्गत एकै दिन ६२ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले बिहीबार राति संयुक्त रूपमा सञ्चालन गरेको अप्रेसनका क्रममा पक्राउ परेकाहरूको साथबाट २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र ९ हजार रुपैयाँ नगद समेत बरामद भएको झापा प्रहरीका सूचना अधिकारी, डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार जिल्लामा लागुऔषधको प्रयोग र ओसारपसार पछिल्लो समय बढ्दो अवस्थामा पुगेकोले यसलाई नियन्त्रण गर्न विशेष अभियान आवश्यक देखिएको थियो । सोही क्रममा नशामा सवारी चलाउने ६ जनासहित ६२ जनालाई नियन्त्रणमा लिइएको जानकारी खड्काले दिए ।
दमक नगरपालिका–४ स्थित ताराबारी क्षेत्रमा भने सडक सुरक्षालाई लक्षित गर्दै विशेष ट्राफिक जाँच कार्यक्रम समेत सञ्चालन गरिएको थियो । दमक नगरपालिका, दमक अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा सार्वजनिक सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षणका साथै लागुऔषध र मदिरा सेवन जाँच गरिएको थियो ।
५४ जना चालक तथा सहचालकको परीक्षण गर्दा ३ जना चालक र २ जना सहचालकले लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । त्यस्तै, २ जना चालकले मदिरा सेवन गरी सवारी चलाएको पाइएको छ ।
यस क्रममा सार्वजनिक सुरक्षामा जोखिम उत्पन्न गर्ने गतिविधिमा संलग्न ६ जनालाई पक्राउ गरिएको डीएसपी खड्काले बताए । उनका अनुसार सोधपुछ तथा चेकजाँचका क्रममा केही व्यक्तिले प्रहरीमाथि नै गालीगलौज तथा दुर्व्यवहार गरेका थिए । त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
गालीगलौज तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–७ का ३२ वर्षीय सन्तोष सिवाकोटी, बिर्तामोड नगरपालिका–६ का २८ वर्षीय सुरज चौधरी, शिवसताक्षी नगरपालिका–११ का ४५ वर्षीय निर्मल सिटौला, मोरङ उर्लाबारी नगरपालिका–८ का २३ वर्षीय दिवश लिम्बू, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ का ३१ वर्षीय रवीन्द्र अर्याल र मेचीनगर नगरपालिका–८ का ४० वर्षीय सुमन न्यौपाने रहेका छन् ।
झापा प्रहरीले अभियानलाई निरन्तरता दिने जनाएको छ । साथै, सर्वसाधारणलाई लागुऔषधबाट टाढा रहन तथा सुरक्षित यातायात नियमको पालना गर्न प्रहरीले आग्रह गरेको छ ।
उता, सुनसरीमा सञ्चालन गरिएको ‘स्वीप अप्रेसन’ अझ व्यापक देखिएको छ । वैशाख ९ गते बेलुकादेखि वैशाख ११ गते बिहानसम्म सञ्चालन गरिएको अभियानका क्रममा १२० जनालाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार ११५ पुरुष र ५ महिलालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये १५ जना लागुऔषध प्रयोगकर्तालाई पुनर्स्थापना केन्द्र पठाइएको छ । सामान्य प्रकृतिको कसुरमा संलग्न ७६ जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको डीएसपी खड्काले बताए ।
उनका अनुसार लागुऔषध कारोबारमा संलग्न २ जनाविरुद्ध मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ । साथै, लागुऔषध मुद्दामा लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पनि पक्राउ गरिएको छ । नियन्त्रणमा लिइएकामध्ये २६ जनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
अभियानका क्रममा सुनसरी प्रहरीले २६.५६ ग्राम ब्राउन सुगर र ४४ पिस विभिन्न प्रतिबन्धित ट्याब्लेटहरू समेत बरामद गरेको छ । डीएसपी खड्काका अनुसार समाजमा गुण्डागर्दी गर्ने, लागुऔषध सेवन गरेर होहल्ला गर्ने तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्न प्रहरी कारबाही तीव्र पारिएको छ ।
तीनै जिल्लामा एकै समयमा सञ्चालन गरिएको अभियानले पूर्वी नेपालमा प्रहरीको सक्रियता र कठोरता दुवै देखाएको छ । पछिल्लो समय लागुऔषध दुर्व्यसन, युवावर्गको संलग्नता, साना समूहगत अपराध र सडक असुरक्षाका घटनाहरू बढ्दै गएको सन्दर्भमा यस्तो अभियान आवश्यक रहेको सुरक्षा विज्ञहरु बताउँछन् ।
यद्यपि, यस्ता अप्रेसनले दीर्घकालीन समाधान दिन्छ कि अस्थायी नियन्त्रण मात्र हो भन्ने प्रश्न पनि उठ्ने गरेको उनीहरुको भनाइ छ । ‘लागुऔषध समस्याको समाधानका लागि पक्राउ र कारबाही मात्र पर्याप्त हुँदैन,’ नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटवाल भन्छन्, ‘पुनर्स्थापना, जनचेतना, रोजगारी र सामाजिक पुनःस्थापनाका कार्यक्रम पनि सँगसँगै आवश्यक हुन्छन् ।’
उनका अनुसार प्रहरीले देखाएको सक्रियता र समन्वित प्रयासले सार्वजनिक सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । आगामी दिनमा यस्ता अभियान निरन्तर र प्रभावकारी रूपमा सञ्चालन हुने हो भने समाजमा आपराधिक गतिविधि घटाउने दिशामा सकारात्मक परिणाम देखिने पूर्वडीएसपी कटवालको भनाइ छ ।



















