ट्रम्प सहभागी कार्यक्रममा गोलीको त्रास

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार ०७:३३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक कार्यक्रममा अचानक गोली चलेको जस्तो आवाज सुनिएपछि कार्यक्रम स्थलमा त्रास फैलिएको छ । सुरक्षा सतर्कता अपनाउँदै उनलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार घटनापछि एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । तर, घटनामा कोही घाइते भएको वा नभएकोबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन । नियन्त्रणमा लिइएका व्यक्तिको परिचयसमेत खुलाइएको छैन ।

Advertisement

बीबीसीले जनाएअनुसार गोली चलेको आवाज सुनिएलगत्तै सुरक्षाकर्मीहरूले ट्रम्प र उनकी पत्नीलाई कार्यक्रमस्थलको मञ्चबाट तुरुन्तै बाहिर लगेका थिए । त्यसपछि उच्च सुरक्षा टोली ‘काउन्टर असल्ट टिम’का हतियारधारी सदस्यहरू मञ्चमा उभिएर हलको पछाडि तर्फ लक्षित गर्दै सुरक्षा घेरा कडा पारेका थिए ।

घटनापछि केहीबेर कार्यक्रमस्थलमा अफरातफरीको अवस्था देखिएको थियो । सीबीएसका अनुसार सुरक्षाकर्मीहरूले अर्को एक अतिथिलाई पनि हतारहतार सुरक्षित स्थानमा सारेका थिए । त्यस क्रममा केही सहभागीहरू भुइँमा लडेको अवस्थामा देखिएका थिए भने कुर्सीहरू ढलेका थिए । सुरक्षाकर्मीहरू ती अवरोध पार गर्दै तीव्र गतिमा अगाडि बढेका थिए ।

सुरक्षा व्यवस्थालाई पुनः व्यवस्थित गरेपछि केहीबेर रोकिएको कार्यक्रम पुनः सुरु गरिएको बीबीसीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.