
एजेन्सी । अमेरिका र इरान बीच जारी शान्ति प्रयास फेरि निष्कर्षविहीन बनेको छ । पाकिस्तानको मध्यस्थतामा भएको दोस्रो चरणको वार्ता पनि कुनै ठोस सहमतिबिना टुंगिएको हो ।
इरानी विदेशमन्त्री अब्बास अराघची शनिबार इस्लामाबादबाट प्रत्यक्ष संवाद नै नगरी स्वदेश फर्किएपछि अमेरिकी पक्षले पनि आफ्नो योजना स्थगित गरेको छ । त्यसलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डलको पाकिस्तान भ्रमण रद्द गरेका हुन् । विशेष दूत स्टीव विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर इस्लामाबाद जाने तयारीमा थिए ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले इरान वार्तामा इच्छुक भए अमेरिकालाई नै सम्पर्क गर्न सक्ने बताएका छन् । तर, इरानले भने प्रत्यक्ष संवाद अस्वीकार गर्दै तेस्रो पक्षमार्फत मात्र आफ्ना धारणा राख्ने अडान दोहोर्याएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईका अनुसार पाकिस्तानमार्फत सन्देश आदानप्रदान जारी रहनेछ ।
यसअघि इस्लामाबादमै भएको पहिलो चरणको वार्ता पनि २१ घण्टा चलेर निष्कर्षमा पुग्न सकेको थिएन । होर्मुज जलडमरूको सुरक्षादेखि इरानको आणविक कार्यक्रम नियन्त्रणसम्मका विषयमा दुवै पक्षबीच सहमति बन्न सकेको छैन ।
इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकी दबाब र नाकाबन्दी कायम रहँदासम्म प्रत्यक्ष वार्ता असम्भव रहेको स्पष्ट पारेका छन् । शाहबाज शरीफसँगको टेलिफोन संवादमा उनले दबाब, धम्की र प्रतिबन्धको वातावरणमा वार्ता नहुने अडान राखेका हुन् ।
पेजेश्कियानले शान्ति प्रक्रियामा सबैभन्दा ठूलो अवरोध संवादको अभाव नभई अमेरिकाको ‘शत्रुतापूर्ण नीति’ रहेको टिप्पणी गरेका छन् । उनका अनुसार जबसम्म अमेरिका आफ्नो दबाबमूलक कदमबाट पछि हट्दैन, तबसम्म विश्वास पुनःस्थापना र वार्ताको प्रगति कठिन रहनेछ ।



















