
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी आर्थिक वर्षका लागि करिब १५ खर्ब डलर बराबरको विशाल बजेट प्रस्ताव सार्वजनिक गरेका छन् ।
उनले रक्षा खर्चमा झण्डै ४० प्रतिशत वृद्धि गरेका छन् । सामाजिक सुरक्षा र घरेलु कार्यक्रमहरूमा भने ठूलो बजेट कटौती प्रस्ताव गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको बजेटले ‘शक्तिमार्फत शान्ति’ भन्ने नीतिलाई प्राथमिकतामा राख्दै सैन्य शक्ति विस्तारलाई मुख्य लक्ष्य बनाएको छ ।
प्रस्तावअनुसार रक्षा बजेटमा मात्रै करिब ४५५ अर्ब डलर थप गरिनेछ । यसअन्तर्गत उन्नत ‘गोल्डेन डोम’ क्षेप्यास्त्र रक्षा प्रणाली निर्माण, जहाज निर्माण उद्योगमा लगानी वृद्धि तथा सैनिकहरूको पारिश्रमिक बढाउने योजना समावेश गरिएको छ ।
यसका साथै, इरानसँग जारी द्वन्द्वका लागि छुट्टै २०० अर्ब डलरको आपतकालीन कोष माग गरिएको छ । जसले अमेरिकी राजनीतिक वृत्तमै बहस सिर्जना गरेको छ ।
रक्षा खर्च वृद्धि गर्न प्रशासनले घरेलु कार्यक्रमहरूमा ७३ अर्ब डलर कटौती गर्ने प्रस्ताव गरेको छ । जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, शिक्षा, आवास तथा स्वास्थ्य क्षेत्रमा पर्ने यो कटौती विशेष रूपमा प्रभावकारी हुने देखिएको छ ।
त्यसमाथि ‘मेडिकेड’ र ‘मेडिकेयर’जस्ता महत्वपूर्ण स्वास्थ्य कार्यक्रमहरू संघीय सरकारबाट हटाएर राज्यको जिम्मामा सार्ने योजना पनि विवादित बनेको छ । बजेटले अध्यागमन नियन्त्रणलाई पनि प्राथमिकता दिएको छ ।
आन्तरिक सुरक्षा निकाय र अध्यागमन एजेन्सीहरूको बजेट बढाएर सामूहिक देशनिकाला अभियानलाई तीव्र बनाउने रणनीति अघि सारिएको छ । यद्यपि, करिब २ ट्रिलियन डलरको बजेट घाटा र ३९ ट्रिलियन डलरको राष्ट्रिय ऋण रहेको अवस्थामा यस्तो उच्च रक्षा खर्चले अमेरिकी अर्थतन्त्रमा थप दबाब पर्ने अर्थशास्त्रीहरूले बताएका छन् । कंग्रेसमा हुने बहसपछि यस बजेटको अन्तिम स्वरूप टुंगो लाग्नेछ ।



















