धेरै गर्न बाँकी छ : डोनाल्ड ट्रम्प

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १०:२२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै ८–९ वर्षसम्म पदमा रहिरहने इच्छा व्यक्त गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले आफ्नो कार्यकालको सुरुवात मात्रै भएको र अझ धेरै काम गर्न बाँकी रहेको बताएका हुन् ।

उपस्थितहरूले उनको भनाइमा हाँसो गरेपछि उनले ‘यो मजाक होइन, मलाई काम गर्न मनपर्छ’ भनेका छन् । आगामी महिनामा ८० वर्ष पुग्ने ट्रम्पले आफ्नो उमेरलाई लिएर समेत टिप्पणी गर्दै आफू वृद्ध नभएको र अझै ५० वर्ष अघिकै जस्तै ऊर्जावान महसुस हुने बताएका छन् ।

Advertisement

उनले यसअघि पनि तेस्रो कार्यकालको सम्भावनाबारे संकेत दिँदै आएका थिए । यसैबीच, सन् २०२५ जनवरी २३ मा अमेरिकी संसदको तल्लो सदनमा एन्डी ओगल्सले संविधान संशोधन गरी ट्रम्पलाई तेस्रो पटक राष्ट्रपतिमा उठ्न दिने प्रस्ताव दर्ता गरेका थिए ।

तर, यो विधेयक अघि बढ्न सकेन । वर्तमान संविधानअनुसार कुनै पनि व्यक्ति दुई पटक मात्र राष्ट्रपति बन्न पाउँछन् । त्यो व्यवस्था सन् १९५१ मा २२औँ संशोधनमार्फत गरिएको हो । यसअघि फ्र्याङ्कलिन डी रुजवेल्ट चार पटक राष्ट्रपति बनेका थिए ।

संविधान संशोधन गर्न अमेरिकी कांग्रेसको हाउस र सिनेट दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्छ । ५० राज्यमध्ये कम्तीमा ३८ राज्यको अनुमोदन चाहिन्छ । हाल सिनेटमा रिपब्लिकनसँग १०० मध्ये ५२ र हाउसमा ४३५ मध्ये २२० सिट मात्र छन् । जुन आवश्यक बहुमतभन्दा कम हो । धेरै राज्यहरूमा डेमोक्रेटिक सरकार भएकाले यस्तो परिवर्तन झनै कठिन मानिन्छ ।

विश्लेषकहरूले ट्रम्पले प्रत्यक्ष रूपमा तेस्रो कार्यकाल नपाए पनि सत्तामा प्रभाव कायम राख्ने वैकल्पिक रणनीति अपनाउन सक्ने बताएका छन् । उपराष्ट्रपति बनेर पर्दापछाडिबाट सत्ता चलाउने वा आफ्ना निकट व्यक्तिलाई राष्ट्रपति बनाएर प्रभाव कायम राख्ने सम्भावनामा पनि चर्चा गरिएको छ । रुसमा भ्लादिमिर पुटिनले अपनाएको राजनीतिक मोडेलसँग यसको तुलना गरिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.