तस्बिर : एआई ।विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाबाट चोरी भएको मोटरसाइकल प्रकरणले पछिल्लो समय पूर्वी तराईमा बढ्दो किशोर–किशोरीको आपराधिक गतिविधिको चिन्ताजनक तस्बिर उजागर गरेको छ ।
प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारेर घटनामा संलग्न रहेको आरोपमा चार जना बालबालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किशोरीसमेत रहेको प्रहरीले जनाएको छ । सञ्जाल नै खडा गरेर उनीहरु मोरङ र सुनसरीमा चोरीमा संलग्न भइरहेको पाइएको प्रहरी स्रोतले बतायो ।
बुढीगंगा गाउँपालिका–६ सुकचौरका शेरबहादुर राईले घरअगाडि पार्किङ गरेर राखेको को ३५ प ६३६४ नम्बरको मोटरसाइकल वैशाख २६ गते बिहानका राति चोरी भएको थियो । बिहान मोटरसाइकल नभेटिएपछि राईले तत्काल प्रहरीमा उजुरी दिएका थिए ।
उजुरी लगत्तै इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी सहायक निरीक्षक (असई) राजेश श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरेर खोजी सुरु गरिएको थियो । घटनालाई गम्भीर रूपमा लिएर विभिन्न स्थानमा निगरानी बढाउँदा प्रहरीले मोरङ र सुनसरीमा ‘बाइक चोर्ने बालबालिकाको नेटवर्क’ पत्ता लगाएको हो ।
प्रहरीको खोजतलासकै क्रममा चोरी भएको मोटरसाइकल सोही दिन बिहान करिब ११ः४० बजेतिर सुनसरीको इटहरी उपमहानगरपालिका–१६ खनारस्थित एउटा घरको कोठा अगाडि फेला परेको थियो । मोटरसाइकल बरामद भएपछि उक्त घरमा डेरा गरेर बस्दै आएकी सुनसरीको बर्जु गाउँपालिका–४ की १६ वर्षीया किशोरीलाई सुरुमा नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।
किशोरीलाई नियन्त्रणमा लिएपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको थियो । त्यसक्रममा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा थप तीन जना किशोर पक्राउ परे । पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँपालिका–३ का १५ वर्षीय, बुढीगंगा–६ का १५ वर्षीय र सुनसरीको बर्जु–४ का १६ वर्षीय किशोर रहेका छन् ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका चारै जना एकआपसमै चिनजानमा रहेका र समूह बनाएर मोटरसाइकल चोरी गर्ने गरेको आशंका छ । चोरीपछि मोटरसाइकललाई मोरङबाट सुनसरीतर्फ लगेर लुकाएर राखिएको अवस्थामा फेला पारिएको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरूले योजनाबद्ध रूपमा खुला स्थान र घरअगाडि पार्किङ गरिएका मोटरसाइकललाई लक्षित गर्ने गरेको प्रहरीको भनाइ छ ।
पूर्वका मोरङ, सुनसरी र झापा जिल्लामा पछिल्लो समय किशोर समूहको संलग्नतामा हुने चोरी, लुटपाट र आपराधिक गतिविधि बढ्न थालेपछि सुरक्षा निकाय थप सतर्क बनेको छ । विशेषगरी रातको समयमा घरअगाडि वा सडक छेउमा पार्किङ गरिएका मोटरसाइकल चोरीका घटना निरन्तर बढ्न थालेको प्रहरी अधिकारीहरू बताउँछन् ।
एसपी कटवालका अनुसार सामाजिक सञ्जालको गलत प्रभाव, कमजोर अभिभावकीय निगरानी, खराब संगत र कम उमेरमै सजिलै पैसा कमाउने मानसिकताले किशोर–किशोरीलाई आपराधिक गतिविधितर्फ तानिरहेको देखिन्छ । उनले बालबालिकाको गतिविधिप्रति अभिभावक सचेत हुनुपर्ने आवश्यकता औंल्याउँदै सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न र अतिरिक्त सुरक्षा उपाय अपनाउन आग्रह गरे ।
प्रहरीले चोरीको मोटरसाइकल बरामद गरिसकेको छ । पक्राउ परेका बालबालिकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

























