सांकेतिक फोटो ।काठमाडौं । जन्मकैद सजाय भुक्तान गरिरहेकी एक महिला काठमाडौंको सुन्धारा कारागारबाट आइतबार मध्यराति फरार भएकी छन् ।
नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ फरार भएको कारागार प्रशासनले जनाएको छ । कारागार प्रमुख कृष्ण चापागाईंका अनुसार उनी शुक्रबार राति करिब १ बजे भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघी भागेकी हुन् ।
चोरी र कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेकी तामाङ यसअघि जेनजी आन्दोलनका बेला पनि फरार भएकी थिइन् । दुई महिनापछि पक्राउ परेकी उनी फेरि भागिन् ।
घटनापछि कारागार प्रशासन र प्रहरीले आन्तरिक अनुसन्धान थालेका छन् । सुन्धारा कारागारको सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मातहतमा रहने गरेको छ ।



















