
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा एक जना युवकले आफ्नै घाँटी रेटेका छन् ।
खुकुरीले आफ्नै घाँटी रेट्दा ३३ वर्षीय आशकुमार राई गम्भीर घाइते भएका छन् । उर्लाबारीस्थित अरनिको अस्पतालमा सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट राईले केही समयदेखि अस्वभाविक व्यवहार देखाउने गरेका थिए । केही समयदेखि उनलाई मानसिक समस्या देखिएको जानकारी आफन्तले प्रहरीलाई दिएका छन् ।
उनकी पत्नी भने ३ वर्षदेखि विदेशमा रहेको पाइएको छ । वैदेशिक रोजगारीका क्रममा पत्नी दुबईमा रहेका बेला घरमा आशकुमारले भने आफ्नै घाँटी रेटेका हुन् । उनकी ७ वर्षीया छोरीसमेत रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार अन्य दिनको भन्दा फरक र अस्वभाविक व्यवहार देखाउन थालेपछि कुनै घटना गराउने हुन् किन भनेर आशकुमारलाई छरछिमेकी र आफन्तले आइतबार रातभर रुँगेर बसेका थिए । रुँगेर बसेकाहरु घरबाट हिँडिसकेपछि सोमबार बिहान ८ बजेतिर घरको कोठामा छिरेर उनले आफ्नो घाँटी रेटेको पाइएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले बताए ।
उनका अनुसार खुकुरीले रेटेपछि आशकुमारको घाँटीमा गहिरो चोट लागेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























