
काठमाडौं । सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको विवादको विरोधमा कानुन व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् ।
नेपाल बार एसोसिसनको कार्यसमितिको बैठकले अदालतका कर्मचारीको खोजीमा सांकेतिक रुपमा लालटिन बालेर प्रदर्शन गर्ने भएको हो ।
संवैधानिक परिषद्ले गरेको प्रधान न्यायाधीशको सिफारिसविरुद्ध सर्वाेच्च अदालतले रिट दर्ता गर्न मानेको थिएन् । सोमबार कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधानले रिट दर्ता गर्न आदेश दिइन् ।
संवैधानिक परिषद्काे सिफारिसविरुद्धका रिटहरू दर्ता नगरी ‘होल्ड’ मा राखेर न्यायको बाटो अवरोध गरेको भन्दै उनले साेमबार १ बजेभित्र सबै निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् । तर,सर्वोच्च अदालतको प्रशासनका कर्मचारी भने कार्यकक्ष छाडेर हिडेका थिए । मुख्य रजिष्ट्रार विमल पौडेल र रजिष्ट्रार मानबहादुर कार्की सर्वोच्चबाट बाहिरिएपछि दरपिठ विरुद्धको निवेदन दर्ता भएन ।
अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा बारले लालटिन बाल्ने निर्णय गरेको हो ।
नेपाल बारका अध्यक्ष डा विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालिनेछ । ‘अदालतमा न्यायको खोजी गर्न जाँदा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले कहाँ न्याय पाउने ? न्याय खोज्न कहाँ जाने ?’ उनले भने ।



















