
विराटनगर । सुनसरीको झुम्का कारागारबाट भागेका एक जना कैदी मोरङमा पक्राउ परेका छन् ।
मोरङको धनपालथान गाउँपालिका–१ का ३९ वर्षीय सतन पासवानलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार पासवान जेनजी आन्दोलनको मौका छोपेर २०८२ साल भदौ २४ गते कारागारबाट फरार भएका थिए ।
अदालतले उनलाई ज्यान मार्ने उद्योग र डाँका मुद्दामा १० र चोरी मुद्दामा ९ गरेर १९ वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतले १ लाख ४० हजार रूपैयाँ जरिबानाको फैसलासमेत गरेको थियो ।
अदालतको फैसला अनुसार कैद सजाय भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनको मौकामा फरार भएका थिए । जहदास्थित घरमै लुकिछिपी बसिरहेको अवस्थामा उनलाई आइतबार साँझ पक्राउ गरिएको डीएसपी लामिछानेले बताए ।
पक्राउ गरेर प्रहरीले सोमबार पासवानलाई जिल्ला अदालत मोरङमा पेस गरेको थियो । प्रहरीले बुझाएपछि उनलाई अदालतले कैद सजाय भुक्तानका लागि जिल्ला कारागार मोरङ चलान गरेको छ ।



















