क्योरुगी तेक्वान्दो टोली मंगोलिया जाँदै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार २०:०८
क्योरुगी तेक्वान्दो टोली मंगोलिया जाँदै 

काठमाडौं । २७ औँ एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार मंगोलियाको उलानबटार जाने भएको छ ।

जापानको आइची–नागोयामा हुने २० औँ एसियाली खेलकुदको छनोट समेत रहेको उक्त प्रतियोगितामा ३ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

Advertisement

जेठ ५ देखि ११ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट, ६३ केजीमुनि साहिल सुनुवार र ८० केजीमुनि अभिषेक बरालले प्रतिस्पर्धा गर्ने छन् । महिला ४६ केजीमुनि सन्तोषी राई, ५३ केजीमुनि गीता कठायत, ५७ केजीमुनि शुभाङ्गी श्रेष्ठ र ४९ केजीमुनि सोनिया गैरेले खेल्ने  छन् । क्वाटरफाइनल पुग्ने खेलाडी एसियाली खेलकुदलाई छनोट हुने प्रावधान छ । नेपालको खेल भने जेठ ७ गतेदेखि सुरु हुनेछ ।

प्रशिक्षकमा पूर्णकुमार योञ्जन, सइद हसन रेजे र सन्दिपा अम्गाईं छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्दले एक कार्यक्रमबीच बिदाइ गरे ।

उलानबटारमै हुने नवौँ एसियाली पुम्से तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली भने मंगोलिया पुगिसेको छ । एसियाली खेलकुदकै लागि खेलाडी छनोटका रूपमा रहेको प्रतियोगितामा युवराज राना मगर र स्वस्तिका तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.