सुनसरीमा हत्या : २० वर्ष कैद, ५ वर्षपछि पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १०:३२

इटहरी । इटहरी प्रहरी कार्यालय इटहरीको टोलीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई अदालतले दोषी ठहर गरेको ५ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले इटहरी उपमहानगरपालिका–७ का ४१ वर्षीय दिनेश चौधरीलाई पक्राउ गरेको हो ।

हत्यामा संलग्न चौधरीलाई दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतले २०७८ साल वैशाख १३ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतले कैदको फैसला सुनाए पनि उनी सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार रहेका थिए ।

Advertisement

अदालतको फैसलापछि कैद भुक्तान गर्नुपर्ने दायित्वबाट भाग्दै आएका चौधरी लामो समयदेखि फरार सूचीमा रहेका हुन् । गोप्य सूचनाको आधारमा निगरानी बढाउँदै आएको प्रहरीले उनलाई घरमै लुकेर बसेको अवस्थामा मंगलबार दिउँसो फेला पारेको हो ।

प्रहरीले चौधरीलाई बुधबार अदालतमा पेस गर्ने तयारी गरिरहेको छ । प्रहरीले बुझाएपछि अदालतले उनलाई सजाय भुक्तानका लागि कारागार चलान गर्नेछ ।

प्रहरीका अनुसार कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा दोषी ठहर भई लामो समयसम्म फरार रहनु कानुनी शासनका लागि चुनौती बनेको थियो । चौधरीको पक्राउसँगै पुरानो र जटिल फाइल कार्यान्वयनमा आएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.