मेची रंगशालामा ‘फ्लडलाइट’ जडान हुने 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार ०६:१२
मेची रंगशालामा ‘फ्लडलाइट’ जडान हुने 

झापा । झापाको भद्रपुरस्थित मेची रंगशालामा ‘फ्लडलाइट’ जडान हुने भएको छ । रंगशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्नका लागि  ‘फ्लडलाइट’ जडान गर्न लागिएको हो ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा तीन करोड ५० लाख बजेट विनियोजन गरेसँगै यो प्रक्रिया अघि बढेको हो । झापाको पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र वार्षिक रूपमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालगायत आयोजना हुँदै आएको छ ।

Advertisement

फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्करप्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख गणेश पोखरेल र खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णुकुमार नेम्वाङले हस्ताक्षर गरे ।

खेलकुद गतिविधिले अत्याधुनिक र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप ‘फ्लडलाइट’ जडान प्रक्रिया सुरु गरिएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए ।

पछिल्लो समय भद्रपुरमा अन्तर्राष्ट्रियता फुटबल तथा क्रिकेट प्रतियोगिताहरू हुन थालेको छ । ‘फ्लडलाइट’ जडानका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउनेछ भने खेलकुद विकास समितिले जग्गा दिनेछ । भद्रपुर नगरपालिकाले फ्लडलाइट प्रणाली जडानका लागि नेपाल विद्युत् प्राधिकरणबाट विद्युत्को मिटर ल्याउने र विद्युत् शुल्क व्यहोर्ने कुरा सम्झौतामा उल्लेख छ ।

फ्लडलाइट प्रणाली जडान कार्य पूर्ण रूपमा सम्पन्न भएपछि यसलाई औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.