एफआईभीबी विश्व वरीयतामा नेपाली महिला भलिबल टोलीको ऐतिहासिक फड्को

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार ११:२३

काठमाडौं । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)ले सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले उल्लेखनीय प्रगति गरेको छ ।

लामो समयपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल पुनः विश्व वरीयतामा समावेश भएको हो । सन् २०२३ यता नियमित अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्दा नेपाल विश्व वरीयताबाट बाहिरिएको थियो । त्यसबेला नेपाल ८६औँ स्थानमा रहेको थियो ।

Advertisement

तर, हाल काठमाडौंमा जारी ‘काभा महिला भलिबल च्याम्पियनसिप २०२६’मा प्रभावशाली प्रदर्शन गरेपछि नेपाल एकैचोटि ५८औँ स्थानमा उक्लिएको छ । एफआईभीबीले शनिबार सार्वजनिक गरेको वरीयताअनुसार नेपालले दक्षिण एसियाकै बलियो टोली भारतलाई समेत पछि पारेको छ ।

प्रतियोगितामा नेपालले किर्गिस्तानलाई सोझो सेटमा हराएपछि वरीयतामा ठूलो सुधार भएको हो । पहिलो खेलमा भारतसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भए पनि नेपाल ६२औँ स्थानमा पुगेको थियो ।

हाल प्रतियोगितामा सहभागी टोलीहरूमध्ये कजाकिस्तान ३६औँ, इरान ४५औँ, किर्गिस्तान ६३औँ, भारत ६४औँ, मालदिभ्स ६६औँ, बंगलादेश ६८औँ तथा श्रीलंका ८५औँ स्थानमा रहेका छन् । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिप एफआईभीबीको आधिकारिक वरीयतामा गणना हुने प्रतियोगिता भएकाले नेपाली महिला टोलीले लामो अन्तरालपछि पुनः विश्व वरीयतामा स्थान बनाउन सफल भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.