
दमक । झापाको दमकमा ब्राउन सुगर (खैरो हेरोइन)को कारोबारमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–५ बिलिभर चर्च नजिक बस्ने २३ वर्षीय तुलसी माझी र ३० वर्षीय राज माझी रहेका छन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख, डीएसपी हरिबहादुर बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मंगलबार राति तुलसी माझीको डेरामा छापा मारेको थियो । सो क्रममा प्लाष्टिकमा पोका बनाएर राखिएको अवस्थामा ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट नेपाली रुपैयाँ ५६ हजार ६ सय, भारतीय रुपैयाँ १ हजार १ सय तथा दुई थान मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेका तुलसी माझीसँग सोधपुछ गर्दा उक्त लागुऔषध बिक्री वितरणमा राज माझीको समेत संलग्नता रहेको खुलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउन थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु लामो समयदेखि लागुऔषधको कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।



















