
विराटनगर । इलामको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ । मंगलबार आयोजित एक औपचारिक समारोहका बीच गाउँपालिकाले लिम्बू भाषा र किराँत सिरिजङगा लिपिलाई सरकारी कामकाजमा प्रयोग गर्ने ऐतिहासिक घोषणा गरेको हो ।
२०८३ वैशाख ११ गते बसेको ६६ औँ कार्यपालिका बैठकको निर्णय बमोजिम यो भाषा लागू गरिएको हो । कोशी प्रदेशका प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष हेमन्त राईले घोषणापत्र वाचन गर्दै लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा औपचारिक सुरुवात गरे ।
नेपालको संविधानको धारा ३, ६, ७ (२) र ३२ (१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृति सम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्ने उद्देश्यले गाउँपालिकाले यो कदम चालेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) ले दिएको अधिकार प्रयोग गर्दै लिम्बू बाहुल्य रहेको यस क्षेत्रमा मातृभाषालाई सरकारी मान्यता दिइएको अध्यक्ष राईले जानकारी दिए ।
लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा लागू गरेकै दिन गाउँपालिकाले साम्जिक मुन्धुम आधारभूत विद्यालयसँग विद्यालय मर्मत सम्भारको योजना सम्झौता गरेको छ । उक्त सम्झौता पत्र नेपाली र लिम्बू (किराँत सिरिजङगा लिपि) दुवै भाषामा तयार पारिएको थियो । सम्झौतामा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिप्रसाद खतिवडा र विद्यालयकी प्रधानाध्यापक कल्पना लिम्बूले हस्ताक्षर गरे ।
गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङले नेपालका ७५३ स्थानीय तहमध्ये लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गर्ने माङसेबुङ पहिलो पालिका भएको दाबी गरे । यसअघि नै गाउँपालिकाले वि.सं. २०७५ साल मंसिर १३ गतेदेखि वडा नं. ५ को कार्यालयमा परीक्षणका रूपमा यो भाषा लागू गरिसकेको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार माङसेबुङ गाउँपालिकाको कुल १६ हजार ८१० जनसङ्ख्यामध्ये ४२।८३ प्रतिशत लिम्बू जाति र ३३।६ प्रतिशत राई जातिको बसोबास रहेको छ । यो घोषणासँगै स्थानीय तहमा भाषिक र सांस्कृतिक अधिकारको कार्यान्वयनमा नयाँ आयाम थपिएको किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले बताए ।
भाषा कार्यान्वयनमा आएसँगै अब गाउँपालिकाका सरकारी कामकाज, चिठीपत्र र सूचनाहरूमा लिम्बू भाषाको समेत प्रयोग हुनेछ, जसले गर्दा मातृभाषी नागरिकहरूलाई सरकारी सेवा लिन थप सहज हुने विश्वास लिइएको छ ।

























