
काठमाडौं । नेपाल अपराजित रहँदै एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल चार अंकसहित सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितले समूह बीबाट चीन उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। इन्डोनेसिया भने अंकविहीन बन्यो ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा कप्तान इन्दु बर्माले ४२ र सीता राना मगरले १३ रन बनाइन्। सोनी पाख्रिनले २९ रन बनाइन् । २० रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै क्याप्टेन इन्दु र सोनीले चौथो विकेटका लागि ४५ रनको साझेदारी गरे। ओपनरद्वय सम्झना खड्का १ र पूजा महतो ९ तथा रुबी पोद्दार शून्य रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो । रुबिना क्षेत्री गोल्डेन डक आउट भइन् ।
इन्डोनेसियाका लागि निमेड सुवान्देवी र नी अरियानीले समान २ विकेट लिइन्।
यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल तयार पारेको थियो।
इनिङ्सकै पहिलो ओभरमा आफ्ना ओपनरलाई गुमाएको इन्डोनेसिया मध्य क्रममा सम्हालिएपछि सम्मानजनक योगफल तयार पार्न सफल भयो । उसका लागि क्याप्टेन नीपुटु आयुनन्दाले नटआउट ५६ रन बनाइन् । यस्तै नीलुह देवीले २३ रन जोडिन् ।
नेपालका लागि मनिषा उपाध्यायले २ र रिया शर्माले एक विकेट लिइन्।

























