एसईई कपको सेमिफाइनल समीकरण पूरा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार १७:२०
एसइई कपको सेमिफाइनल समीकरण पूरा 

विराटनगर । विराटनगरमा जारी ५ औँ एसईई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

पोखरिया युथ केयर एकेडेमीको आयोजना तथा विराटनगर महानगरपालिका–१ को सहकार्यमा परोपकार खेल मैदानमा भइरहेको प्रतियोगिताको शनिबार सम्पन्न क्वाटरफाइनल खेलहरूबाट चार टोलीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । प्रतियोगिताको सेमिफाइनलमा विराटनगरको आदर्श मावि, टंकीसिनवारीको नरग्राम मावि, डनबस्को बोर्डिङ स्कुल र कोशी मोडल स्कुल प्रवेश गरेका छन् ।

Advertisement

पहिलो खेलमा टंकीसिनवारीको नरग्राम माविले झोराहाटको शारदा माविलाई ५–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । नरग्रामका लागि आयुष सरदार, समीप आले मगर, प्रज्वलजंग ठकुरी, निशान बुढाथोकी र राम बस्नेतले समान १–१ गर्दै टोलीलाई विजयी बनाए । खेलको प्लेयर अफ द म्याच आयुष सरदार भए ।

दोस्रो खेलमा विराटनगरको डनबस्को स्कुलले विराटनगरकै एजेलिया बोर्डिङ स्कुललाई ३–० गोल फरकमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । डनबस्कोका उदेश केसीले २ गोल र तनुज राजवंशीले १ गोल गर्दै टोलीलाई जिताए । खेलको प्लेयर अफ द म्याच उदेश केसी भए ।

त्यस्तै, दिनको तेस्रो खेलमा कोशी मोडल स्कुलले बाल कल्याण विद्या मन्दिर (विकेभिएम) लाई १–० गोलमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । कोशीका यशराज माझीले गरेको गोल निर्णायक बन्यो । खेलको प्लेयर अफ द म्याच कोशीका एमडी मासुम भए ।

चौथो खेलमा आदर्श माविले महेन्द्र माविलाई २–० गोल फरकमा हराउँदै सेमिफाइनल पुग्यो । आदित्य ढुंगेल र एलन थापाले समान १–१ गोल गर्दै आदर्शलाई विजयी बनाए । खेलको प्लेयर अफ द म्याच आदर्शका आदित्य ढुंगेल भए ।

प्रतियोगिताको आइतबार हुने पहिलो सेमिफाइनल खेल डनबस्को स्कुल र कोशी मोडल स्कुल तथा दोस्रो खेल आदर्श मावि र नरग्राम माविबीच हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.