
एजेन्सी । इरानले आइतबार राति इजरायलमाथि सीमित संख्यामा ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि मध्यपूर्वमा फेरि तनाव चुलिएको छ ।
इजरायलले लेबनानको राजधानी बेरुत नजिक हिजबुल्लाह लक्षित आक्रमण गरेलगत्तै इरानले त्यसको जवाफस्वरूप मिसाइल हमला गरेको हो । इजरायली सेनाका अनुसार दुई चरणमा गरिएको आक्रमणमध्ये पहिलो चरणका सबै मिसाइलहरू आकाशमै खसालिएका थिए ।
स्थानीय समयअनुसार राति ११ बजेतिर नागरिकलाई सुरक्षित आश्रयस्थलबाट बाहिर निस्कन अनुमति दिइएको थियो । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सोमबार देशभरका विद्यालय बन्द गर्ने निर्णय पनि गरिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले हिजबुल्लाहमाथि गरिएको इजरायली आक्रमणको प्रतिकारस्वरूप मिसाइल प्रहार गरिएको जनाएको छ । उसले युद्धविरामको सर्त सबै मोर्चामा लागू हुनुपर्ने उल्लेख गर्दै इजरायलले आक्रामक गतिविधि दोहोर्याए थप कडा जवाफ फर्काउने चेतावनी दिएको छ ।
इजरायलले तत्काल प्रतिआक्रमण नगरे पनि कडा प्रतिक्रिया दिने संकेत गरेको छ । इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले इरानले ‘गम्भीर गल्ती’ गरेको टिप्पणी गर्दै इजरायली भू–भागमा सिधा मिसाइल प्रहार गरेर नयाँ परिस्थिति सिर्जना गर्न खोजिएको आरोप लगाए ।
गत अप्रिलमा युद्धविराम भएपछि इजरायल र इरानबीच प्रत्यक्ष सैन्य भिडन्त रोकिएको थियो । तर, पछिल्ला घटनाक्रमले त्यो विराम फेरि टुट्न सक्ने चिन्ता बढाएको छ ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेरुतमा भएको इजरायली आक्रमण अमेरिकासँगको समन्वयमा नभएको बताएका छन् । फक्स न्यूजसँग कुरा गर्दै उनले इरानलाई थप मिसाइल प्रहार नगर्न र वार्ताको टेबलमा फर्किन आग्रह गरेका छन् ।



















