जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्स रोकियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार ०६:२८

अमेरिका । विश्वकप फुटबलमा एसियाको बलियो टोली जापानले युरोपेली शक्ति नेदरल्यान्ड्सविरुद्ध शानदार पुनरागमन गर्दै २–२ गोलको बराबरी निकालेको छ । अमेरिकाको डलासमा सम्पन्न समूह चरणको खेलमा पछि परेको अवस्थाबाट फर्किँदै जापानले महत्वपूर्ण एक अंक बटुलेको हो ।

खेलको अधिकांश समय संघर्षपूर्ण बनेको थियो । पहिलो हाफमा दुवै टोलीको सतर्क प्रदर्शनले गोल हुन सकेन । तर, दोस्रो हाफ सुरु भएसँगै खेलले तीव्रता लियो र चारै गोल यही हाफमा सम्भव भए ।

Advertisement

नेदरल्यान्ड्सले खेलको ५१औँ मिनेटमा अग्रता बनाएको थियो । रायन ग्राभेनबर्खले दिएको उत्कृष्ट पासमा कप्तान भर्जिल भान डाइकले हेडमार्फत बललाई जाली चुमाउँदै टोलीलाई १–० को अवस्थामा पुर्‍याए ।

तर, जापान धेरै बेर दबाबमा रहेन । खेलको ५७औँ मिनेटमा केइतो नाकामुराले गरेको प्रहार गोलरक्षक बार्ट फेर्ब्रुगेनले नियन्त्रण गर्न नसक्दा बल जालीमा पुगेको थियो । त्यससँगै खेल १–१ को बराबरीमा फर्कियो ।

बराबरीपछि आक्रामक बनेको नेदरल्यान्ड्सले फेरि अग्रता लिन सफल भयो । खेलको ६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले पेनाल्टी क्षेत्रभित्रबाट गरेको आकर्षक प्रहार जापानी गोलरक्षक जियोन सुजुकीलाई छल्दै जालीमा पुगेपछि टोली २–१ ले अघि बढ्यो ।

त्यसपछि जापानले लगातार आक्रमणको प्रयास जारी राख्यो । समय सकिन लाग्दा नेदरल्यान्ड्स जित नजिक पुगेको देखिए पनि जापानी खेलाडीहरूले अन्तिमसम्म संघर्ष छाडेनन् । त्यसको प्रतिफलस्वरूप ८८औँ मिनेटमा जापानले बराबरी गोल फर्कायो । कोकी ओगावाले प्रहार गरेको बललाई दाइची कामादाले उत्कृष्ट हेडमार्फत गोलमा परिणत गरेपछि मैदानमा रहेका जापानी समर्थकहरू उत्साहमा झुमेका थिए ।

कामादाको निर्णायक गोलसँगै खेल २–२ को बराबरीमा टुंगियो । बलियो प्रतिद्वन्द्वीविरुद्ध दुई पटक पछि परेको अवस्थाबाट फर्केर अंक जोगाउनु जापानका लागि ठूलो उपलब्धि मानिएको छ ।

समूह चरणमा ब्राजिल र मोरक्कोपछि विशेष चासोका साथ हेरिएको यो प्रतिस्पर्धामा जापानले साहस, धैर्य र संघर्षशील खेल प्रदर्शन गर्दै प्रतियोगिताको सुरुवातलाई सकारात्मक बनाएको छ । यता नेदरल्यान्ड्स भने दुई पटक अग्रता जोगाउन नसक्दा पूर्ण तीन अंकबाट वञ्चित हुन पुग्यो ।

अन्तिम समयमा आएको कामादाको गोलले जापानलाई एक अंक मात्र दिलाएन । आगामी खेलहरूका लागि आत्मविश्वाससमेत थपिदिएको छ । विश्वकपको पहिलो खेलमै बलियो युरोपेली टोलीलाई रोक्न सफल भएपछि जापानले प्रतियोगितामा आफूलाई उपाधि दाबेदार टोलीहरूका लागि चुनौतीपूर्ण प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.