
विराटनगर । मोरङको पथरीशनिश्चरेमा ‘तेस्रो पथरीशनिश्चरे अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता असोजमा हुने भएको छ ।
पथरी–११ फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर असोज १७ गतेदेखि २६ गतेसम्म पथरीमा प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुमन विकले प्रतियोगिताले फुटबल खेलको विकास, खेलाडीको प्रतिभा प्रवर्द्धन तथा खेल पर्यटनलाई टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले प्रतियोगिता सफल बनाउन सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी, व्यवसायी र खेल प्रेमी सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
क्लबका सचिव केशर थुलुङले दुई वर्षदेखि निरन्तर रूपमा हुँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिँदै असोज १७ गतेदेखिको मिति तय गरी आयोजनाको तयारी थालेको बताए । उनका अनुसार प्रतियोगिता आयोजना गर्न करिब ८० लाख रुपैयाँ अनुमानित खर्च रहेको छ ।
प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेता टोलीले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । साथै, खेलाडीले ट्रफी, मेडल, विधागत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।



















