अन्तिम समयमा उरुग्वेको पुनरागमन, साउदीसँग अंक बाँड्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार ०६:३४

अमेरिका । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’को प्रतिस्पर्धामा उरुग्वे र साउदी अरबले बराबरी खेल्दै प्रतियोगिताको सुरुआत गरेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न खेल १–१ को बराबरीमा टुंगिएको हो ।

खेलको पहिलो हाफमा साउदी अरबले प्रभावशाली प्रदर्शन गर्दै अग्रता बनाएको थियो । ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले गरेको गोलले साउदीलाई १–० को स्थितिमा पुर्‍यायो । पहिलो हाफ सकिँदासम्म साउदीले उक्त अग्रता कायम राख्न सफल भयो ।

Advertisement

दोस्रो हाफमा उरुग्वेले लगातार दबाब सिर्जना गरे पनि लामो समयसम्म गोल निकाल्न सकेन । अन्ततः खेलको ८०औँ मिनेटमा म्याक्सी अराजोले जाली चुमाउँदै उरुग्वेलाई बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल सम्भव हुन सकेन ।

खेलमा बल नियन्त्रण र आक्रमणको हिसाबले उरुग्वे हाबी देखिएको थियो । उरुग्वेले ११ पटक लक्ष्यमा प्रहार गर्दा साउदी अरबले तीन पटक मात्रै ‘सट अन टार्गेट’ गर्न सकेको थियो । तर, अवसरलाई गोलमा परिणत गर्न नसक्दा उरुग्वे एक अंकमै सीमित बन्यो ।

यस नतिजापछि समूह ‘एच’को प्रतिस्पर्धा थप रोचक बनेको छ । समूहका चारै टोलीले पहिलो खेलपछि समान एक–एक अंक जोडेका छन् । यसअघि सोही समूहमा स्पेन र केप भर्डेबीचको खेल पनि १–१ को बराबरीमा सकिएको थियो ।

विश्वकप अन्तर्गत मंगलबार नै भएको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेलेका थिए । मंगलबार तेस्रो खेलमा इरान र न्यूजिल्यान्ड आमनेसामने हुँदैछन् । उक्त खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.