फार्म हाउसमा खाडल खनेर लागुऔषध लुकाउने १३ जना पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार ०८:४३
फार्म हाउसमा खाडल खनेर लागुऔषध लुकाउने १३ जना पक्राउ 

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेका फार्म हाउसहरूलाई लागुऔषध भण्डारण र बिक्री केन्द्र बनाएको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। टोखा र चन्द्रागिरी नगरपालिका क्षेत्रमा सञ्चालित फार्म हाउसहरूमा छापा मार्दा प्रहरीले ठुलो परिमाणमा नियन्त्रित लागुऔषध बरामद गरेको हो।

पक्राउ पर्नेहरूमा नुवाकोटका निमा तामाङ र विक्रम लामा, रुपन्देहीका सागर बुढाथोकी, भक्तपुरका उद्धव श्रेष्ठ र विकास काफ्ले, सिन्धुलीकी माया विशङ्खे, कालिकोटका खड्क रोकया र कमला थामी रहेका छन् ।

Advertisement

यस्तै, बाजुराकी मेनुका थामी, बाराका प्रदीप भन्ने सञ्जय साह सोनार, पर्साका प्रमोद प्रसाद कलवार तथा काठमाडौँका मोनिका श्रेष्ठ र सुशीला महर्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न जिल्लामा घर भए पनि काठमाडौंको विभिन्न स्थानमा फार्म हाउस सञ्चालनको आवरणमा प्रतिबन्धित लागुऔषधको अवैध कारोबार गर्ने गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक खानतलासीका क्रममा ती स्थानहरूबाट २ लाख ९ हजार ट्याब्लेट ट्रामाडोल बरामद भएको छ। यसैगरी, सुईमार्फत प्रयोग गरिने बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन गरी जम्मा २ हजार ४ सय एम्पुल लागुऔषध समेत फेला परेको छ। बरामद गरिएका सामग्रीहरूमा ७ लाख ८७ हजार ५ सय रुपैयाँ नगद र २८ थान मोबाइल फोन समेत रहेको प्रहरीले जनाएको छ ।

यो समूहले भारतबाट अवैध रूपमा लागुऔषध खरिद गरी नेपाल भित्र्याउने गरेको खुलेको छ। पक्राउ परेका व्यक्तिहरूले फार्म हाउस भित्रको जमिनमा खाडल खनेर लागुऔषध लुकाउने र त्यहीँबाट बजारमा आपूर्ति गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

फार्महाउसलाई आवरण बनाएर जमिनमुनि खाडल खनी लागुऔषध लुकाउने गरेको पाइनुले यो संगठित गिरोह भएको प्रहरीको ठहर छ ।

पक्राउ परेका सबैलाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। फार्म हाउसको आवरणमा हुने यस्ता अवैध गतिविधिबारे प्रहरीले थप सूक्ष्म निगरानी बढाएको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.