
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज, चरित्रहत्या र ज्यान मार्ने धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाएकी छन् । संसद्मा जनचासोका विषयहरू उठाउँदा निरन्तर प्रहार भएपछि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएकी हुन् ।
ओलीले दिएको उजुरीका आधारमा प्रहरीले एक जना आरोपीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया सुरु भइसकेको जानकारी उनले दिएकी छन् ।
केही सातादेखि सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित आक्रमण भइरहेको ओलीको भनाइ छ । उनले आफ्नो व्यक्तिगत मोबाइल तथा मेसेन्जरमा समेत बलात्कार र भौतिक आक्रमणका धम्कीहरू आउने गरेको बताइन् । ‘संसद्मा जनसरोकारका विषय उठाउँदा त्यसलाई रोक्ने र हतोत्साहित गर्ने उद्देश्यले नियोजित रूपमा मेरो चरित्रहत्या र ज्यान मार्ने धम्की दिइएको छ,’ उनले भनिन् ।
साइबर ब्युरोले यस घटनालाई गम्भीरताका साथ लिँदै अन्य संलग्नहरूको पनि खोजी गरिरहेको छ । सार्वजनिक पदमा रहेका महिलाहरूमाथि सामाजिक सञ्जालमार्फत हुने यस्ता हिंसात्मक र अपमानजनक क्रियाकलापविरुद्ध कडा रूपमा प्रस्तुत हुने ओलीले प्रतिबद्धता जनाएकी छन् ।



















