हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ४, बिहीबार ०९:५५
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै

काठमाडौं । झापामा जंगली हात्तीको आक्रमणबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा यो विशेष टोली गठनको प्रक्रिया अगाडि बढाइएको हो ।

मेचीनगर नगरपालिका–४ मा गत हप्ता हात्तीको आक्रमणबाट ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएपछि स्थानीय स्तरमा सुरक्षाको माग बढ्दै गएको थियो । सोही घटनालाई लिएर प्रतिनिधिसभा सदस्य निशा डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले संसदमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Advertisement

सांसद निशा डाँगीका अनुसार प्रधानमन्त्री कार्यालयले बुधबार नै सम्बन्धित निकायलाई प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ । अब प्रमुख जिल्ला अधिकारी (सीडीओ)को समन्वयमा यो फोर्स परिचालन हुनेछ ।
प्रस्तावित ‘स्पेसल टास्क फोर्स’ मा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई समावेश गरिने छ । यसको मुख्य कार्यक्षेत्र भारतीय सीमावर्ती बाहुन डाँगी क्षेत्र हुनेछ, जहाँबाट एकै पटक ३० देखि १ सय वटासम्म हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् । भारतको आसाम र पश्चिम बङ्गालबाट जंगली हात्तीको बथान एकै पटकमा नेपाल प्रवेश गर्दै आएको छ।

वन्यजन्तु आरक्ष क्षेत्र नभएका कारण सुरक्षाकर्मी परिचालनमा रहेको कानुनी जटिलतालाई फुकाउँदै संघीय र प्रदेश मातहतका सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गर्न लागिएको हो । सांसद डाँगीले सुरुमा ५० जना सुरक्षाकर्मीको माग गरेकी छिन् । यद्यपि, सुरुवाती चरणमा कम्तीमा १० जना अनुभवी र तालिमप्राप्त सुरक्षाकर्मीबाट काम सुरु गर्न सकिने सुझाव आएको उनले बताइन् ।

सरकारको यो कदमले मेची नगरवासीमा उत्साह जगाएको छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले सुरक्षाकर्मी परिचालन गर्ने निर्णय स्वागतयोग्य रहेको बताउँदै प्रशिक्षण प्राप्त टोली खटाउनुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.