पाथीभरा केबलकार विवाद सुल्झाउन सरकारद्वारा कार्यदल गठन 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ५, शुक्रबार १३:५२
मुक्कुम्लुङ पाथीभरा केबलकार विवाद सुल्झाउन सरकारद्वारा कार्यदल गठन 

काठमाडौं । ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र पाथीभरा (मुक्कुम्लुङ) मा निर्माण हुन लागेको केबलकारका सम्बन्धमा उत्पन्न विवाद समाधान गर्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव स्तरको निर्णयअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

Advertisement

विवादका सबै पक्षहरूलाई समेट्ने उद्देश्यले राईको संयोजकत्वमा गठन गरिएको कार्यदलको सदस्यहरू  पूर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, केबलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि, केबलकार निर्माण कम्पनीका प्रतिनिधि, प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका स्वकीय सहसचिव र गृह मन्त्रालयका उपसचिव रहेका छन् ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त कार्यदललाई केबलकार निर्माणका क्रममा देखिएका समस्या र विवादहरूको पहिचान गरी समाधानका लागि १५ दिनभित्र ठोस सुझाव पेस गर्ने समय सीमा दिइएको छ।

मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण गर्ने विषयलाई लिएर लामो समयदेखि स्थानीय, धार्मिक अभियन्ता र निर्माण पक्षबीच विवाद रहँदै आएको छ । सरकारले गठन गरेको यस कार्यदलले सबै सरोकारवालासँग छलफल गरी विवाद अन्त्य गर्ने र विकास निर्माणलाई अघि बढाउने उपायहरूको खोजी गर्ने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.