
एजेन्सी । अमेरिका र इरानसँग सम्बन्धित युद्धजन्य तनाव सुरू भएयता पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ७० अमेरिकी डलरभन्दा तल झरेको छ । विश्व बजारमा तेल आपूर्ति सहज हुने अपेक्षासँगै मूल्यमा उल्लेख्य गिरावट आएको हो ।
बुधबार अमेरिकाको प्रमुख कच्चा तेल सूचकको मूल्य ४ दशमलव ४ प्रतिशतले घटेर प्रतिव्यारेल ७० डलरभन्दा तल पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसैगरी विश्व बजारको अर्को प्रमुख कच्चा तेल सूचकको मूल्य पनि ४ दशमलव ६ प्रतिशतले घटेर प्रतिव्यारेल ७३ दशमलव ५० डलरमा कायम भएको छ । तेलको मूल्य युद्ध सुरू भएपछिकै सबैभन्दा न्यून मानिएको छ ।
कच्चा तेलको मूल्य घटिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल कम्पनीहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । कच्चा तेल सस्तो भए पनि उपभोक्ताले प्रयोग गर्ने पेट्रोलको मूल्य सोही अनुपातमा नघटाइएको भन्दै उनले अमेरिकी न्याय विभागलाई छानबिन गर्न निर्देशन दिएका छन् ।
ट्रम्पले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि त्यसको प्रत्यक्ष लाभ उपभोक्तासम्म नपुर्याइएको आरोप लगाएका छन् । उनका अनुसार कच्चा तेलको मूल्य तीव्र रूपमा घट्दा पेट्रोलको मूल्य अपेक्षाअनुसार कम नहुनु उपभोक्तामाथिको अतिरिक्त आर्थिक भार हो ।
विश्लेषकहरूका अनुसार इरानसँगको द्वन्द्वका कारण प्रभावित बनेको विश्वकै महत्वपूर्ण सामुद्रिक मार्ग ‘होरमुज जलडमरूमध्य’ पुनः सञ्चालनमा आएपछि तेल आपूर्तिसम्बन्धी चिन्ता कम भएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न सहयोग पुगेको मानिएको छ ।
मूल्यमा आएको गिरावटसँगै अमेरिकामा पेट्रोलको औसत खुद्रा मूल्य पनि ओरालो लागेको छ । गत मे महिनामा प्रतिग्यालन ४ दशमलव ५६ डलरसम्म पुगेको पेट्रोलको औसत मूल्य अहिले ३ दशमलव ९२ डलरमा झरेको छ ।
यद्यपि, हालको मूल्य अझै पनि अघिल्लो वर्षको तुलनामा उच्च नै छ। एक वर्षअघि अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ३ दशमलव २२ डलर थियो। त्यसको तुलनामा अहिले उपभोक्ताले करिब ७० सेन्ट बढी तिर्नुपरेको अवस्था छ। त्यसैले पछिल्लो गिरावटले केही राहत दिए पनि पेट्रोलको मूल्य अझै अघिल्लो वर्षको स्तरमा फर्किन सकेको छैन।



















