
विराटनगर । असारलाई मानो रोपेर मुरी उब्जाउने महिना भन्ने गरिन्छ । सोमबार असार १५ गते धान दिवस पनि हो । खेतका गराहरूमा हिलो छ्यापाछ्याप गर्दै असारे गीतको भाकामा खेतका गराहरूमा किसानहरूको उत्साह छाउनुपर्ने यो विशेष दिन हो ।
तर, नेपालकै अन्नको भण्डार भनेर चिनिने कोशी प्रदेशका किसानहरूका लागि भने यस वर्षको असार १५ ले खुसी र उत्साह ल्याउन सकेको छैन । पर्याप्त वर्षा नहुँदा, समयमा मल नपाउँदा र खेतमा पानी छाड्नुपर्ने सरकारी नहरहरू बल्ल मर्मतसम्भारको गियरमा गुडिरहँदा कोशीका किसानहरू यतिबेला खेतका सुक्खा गरा हेरेर बस्न बाध्य छन् ।
कृषि विकास निर्देशनालयको असार १२ गतेसम्मको तथ्याकं हेर्दा प्रदेशभरि मुस्किलले १५.३३ प्रतिशत मात्र रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा १४.२५ प्रतिशत रोपाइँ भएको थियो । तुलनामा यो वर्षको अंक झट्ट हेर्दा केही बढी देखिए पनि मुख्य सिजनको मध्यमा आइपुग्दा यो गति निकै चिन्ताजनक हो । जसोतसो दुःख गरेर धानको ब्याड राखेका किसानहरू अहिले रोप्ने बेलामा सिँचाइ, मल र मजदुरको अभावसँग एकैसाथ जुधिरहेका छन् ।
भौगोलिक बनोटका आधारमा हेर्ने हो भने कोशी प्रदेशको उच्च पहाडी क्षेत्रमा पर्ने ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु जस्ता जिल्लाहरूमा हालसम्म १०.९१ प्रतिशत मात्र रोपाइँ सकिएको छ । कुल १५ हजार ३ सय ८३ दशमलव ९६ हेक्टर धान खेती हुने क्षेत्रमध्ये जम्मा १ हजार ६ सय ७८ दशमलव ८८ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
यस्तै, पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुगां र खोटाङ समेटिएको मध्य पहाडी क्षेत्रमा तुलनात्मक रूपमा केही बढी अर्थात् २७.१४ प्रतिशत रोपाइँ सकिएको छ । जहाँ कुल ६७ हजार ७ सय १७ दशमलव ५८ हेक्टर क्षेत्रमध्ये १८ हजार ३ सय ७९ दशमलव ५४ हेक्टरमा धान रोपिएको छ ।
तर, धान उत्पादनको मुख्य हब मानिने तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीको अवस्था भने सबैभन्दा दयनीय छ । कुल १ लाख ९३ हजार २ सय ८५ दशमलव १८ हेक्टर धान खेती हुने तराई क्षेत्रमा हालसम्म मात्र ११.५४ प्रतिशत अर्थात् २२ हजार २ सय ९९ दशमलव ५५ हेक्टरमा मात्र धान रोपाइँ हुन सकेको छ ।
सबैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा ७५ हजार ४ सय ५९ दशमलव १८ हेक्टर क्षेत्रफलमध्ये ६.१३ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ । त्यस्तै ६९ हजार ८ सय १७ हेक्टर क्षेत्रफल भएको मोरङ र ४८ हजार ९ हेक्टर क्षेत्रफल रहेको सुनसरीमा १५ प्रतिशतका दरले मात्र रोपाइँ अघि बढेको कृषि ज्ञान केन्द्र मोरङका सूचना अधिकारी आदर्शकुमार सिंहले बताए । भित्री मधेशका जिल्ला उदयपुरमा १३ हजार ३ सय ८० दशमलव ०५ हेक्टरमध्ये १०.१३ प्रतिशत र खोटाङमा १० हजार १८ दशमलव ०९ हेक्टरमध्ये २०.०३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ ।
किसानहरूका लागि पानीको अभाव त छँदैछ । त्यसमाथि मलको हाहाकारले ढाड नै सेकिदिएको छ । कोशी प्रदेश सरकारले हरेक आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्व बढाउने ठूला–ठूला लक्ष्य र नाराहरू घोषणा त गर्छ । तर, किसानलाई मुख्य सिजनमै आवश्यक पर्ने मलको व्यवस्थापन गर्न भने सधैं असफल देखिन्छ । कोशी प्रदेशमा वार्षिक रूपमा १ लाख ३८ हजार ३ सय ३५ मेट्रिक टन युरिया मलको आवश्यकता पर्ने भए पनि प्रादेशिक कृषि सामग्री केन्द्रमा हाल जम्मा १० हजार २ सय ५९ दशमलव ६५० मेट्रिक टन मात्र युरिया मौज्दात छ ।
त्यसैगरी, प्रदेशभर कुल ७७ हजार ३ सय १५ मेट्रिक टन डीएपी मल आवश्यक पर्नेमा अहिले जम्मा १ हजार ४ सय १७ दशमलव ६०० मेट्रिक टन मात्र उपलब्ध छ । धान गोड्ने र सप्रिने समयमा आवश्यक पर्ने पोटास मलको अवस्था पनि उस्तै छ । ४८ हजार ८ सय ७२ मेट्रिक टन पोटासको माग रहेकोमा गोदाममा जम्मा ३ हजार २२ दशमलव ८ सय मेट्रिक टन मात्र मौज्दात रहेको छ । माग र आपूर्तिको यो विशाल अन्तरले नै प्रदेशमा मलको वास्तविक संकट कति गहिरो छ भन्ने कुरा छर्लगं पार्छ ।
धान दिवसको अवसरमा भाषण र महोत्सवहरू भइरहँदा खेतका गराहरूमा भने सिँचाइ र मल नपाएर किसानहरू पिरोलिएका छन् । उनीहरुको रुवाबासी चलिरहेको छ । समयमै पर्याप्त वर्षा नहुने र मलको चरम अभाव कायम रहने हो भने कोशी प्रदेश सरकारले लिएको धान उत्पादन वृद्धिको लक्ष्य कागजमै सीमित हुने सरोकारवाला बताउँछन् ।

























