
अमेरिका । चार पटकको विश्व विजेता जर्मनी सन् २०२६ को फिफा विश्वकपबाट अन्तिम १६ मै बाहिरिएको छ । मंगलबार बिहान भएको रोमाञ्चक नकआउट खेलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि जर्मनीको विश्वकप यात्रा टुंगिएको हो ।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जर्मनीले पहिलो प्रहार गरे पनि सुटआउटभर एकपटक पनि अग्रता बनाउन सकेन । आर्सनलका फरवार्ड काई हाभर्ट्ज र न्युक्यासल युनाइटेडका निक भोल्टेमाडेको प्रहार पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले उत्कृष्ट रूपमा बचाए ।
यद्यपि, पाराग्वेले पनि खेल चाँडै जित्ने अवसर गुमाएको थियो । एन्टोनियो सानाब्रियाको प्रहार पोस्टबाहिरियो भने फाबियन बाल्बुएनाको प्रहारलाई ४० वर्षीय अनुभवी जर्मन गोलकिपर म्यानुएल नोयरले रोके ।
सुटआउट सडन डेथमा पुगेपछि जर्मनीका जोनाथन टाहले आफ्नो प्रहार पोस्टमाथि पठाए । त्यसपछि पाराग्वेका डिफेन्डर जोसे कानाले कुनै गल्ती नगरी निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक ४–३ को जित दिलाए ।
खेलको ४२औँ मिनेटमा जुलियो एन्सिसोले उत्कृष्ट हेडमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२औँ मिनेटमा फ्लोरियान विर्ट्जको क्रसमा काई हाभर्ट्जले फ्लिक हेडरमार्फत गोल गर्दै जर्मनीलाई बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयको १०२औँ मिनेटमा जोनाथन टाहले हेडरमार्फत गोल गरेका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्रीको समीक्षा पछि उक्त गोल रद्द भयो । समीक्षा क्रममा जर्मनीका वाल्डेमार एन्टोनले गोलकिपर ओर्लान्डो गिललाई धक्का दिएको देखिएपछि रेफ्रीले फाउल ठहर गर्दै गोललाई मान्यता दिएनन् ।
विश्वकप इतिहासमा यी दुई टोलीबीच यसअघि सन् २००२ को राउन्ड अफ १६ मा मात्र भेट भएको थियो । त्यसबेला जर्मनी १–० ले विजयी भएको थियो । त्यसको २४ वर्षपछि पाराग्वेले त्यही हारको बदला लिँदै पहिलो पटक विश्वकपमा जर्मनीलाई पराजित गरेको हो ।
ठूला प्रतियोगितामा पेनाल्टी सुटआउटमा जर्मनीको निकै बलियो इतिहास मानिन्थ्यो । सन् १९७६ को युरोपियन च्याम्पियनसिप फाइनलपछि जर्मनीले सातमध्ये छ वटा पेनाल्टी सुटआउट जितेको थियो । पाराग्वेले यसपटक त्यो प्रभावशाली रेकर्ड पनि अन्त्य गरिदियो ।
पाराग्वे यसअघि पाँच पटक विश्वकपको नकआउट चरणमा पुगे पनि नियमित समयमा कुनै खेल जित्न सकेको थिएन । सन् २०१० को विश्वकपमा जापानलाई पेनाल्टी सुटआउटमा हराएर टोली पहिलो र हालसम्मकै एकमात्र क्वार्टरफाइनल पुगेको थियो । त्यतिबेला पाराग्वे स्पेनसँग पराजित भएको थियो ।
यता सन् २०१४ मा विश्वकप उपाधि जितेपछि पहिलो पटक नकआउट चरण पुगेको जर्मनी भने यसपटक पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । अब पाराग्वेले क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा पनि जित हात पारे पाराग्वे विश्वकपको अन्तिम आठमा स्थान बनाउनेछ ।

























