भूकम्पको भग्नावशेषबाट ८ दिनपछि जीवितै उद्धार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार ०७:१८

एजेन्सी । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा ८ दिनसम्म फसेका एक व्यक्तिको अन्ततः जीवितै उद्धार गरिएको छ ।

१४० टनभन्दा बढी भग्नावशेषमुनि थुनिएका हर्नान गिललाई बहुराष्ट्रिय उद्धार टोलीले जटिल र जोखिमपूर्ण अभियान सञ्चालन गर्दै सुरक्षित रूपमा बाहिर निकालेको हो । गत जुन २४ मा आएका दुई शक्तिशाली भूकम्पका कारण भेनेजुएलामा ठूलो जनधनको क्षति भएको छ ।

हालसम्म करिब दुई हजार तीन सय जनाको मृत्यु पुष्टि भइसकेको छ । हजारौं मानिस अझै बेपत्ता रहेकाले खोज तथा उद्धार कार्य जारी छ । भूकम्प आउँदा गिल कातिया ला मारस्थित गालेरियास प्लाया ग्रान्डे सपिङ मलसँगै रहेको पार्किङ क्षेत्रको बेसमेन्टमा रहेको सुरक्षा कक्षमा ड्युटीमा थिए ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त कङ्क्रिट संरचनाले सुरक्षात्मक आवरणको काम गरेकाले उनीमाथि खसेको विशाल भग्नावशेषबाट जोगिन सफल भएका थिए । उद्धार टोलीले आइतबार भग्नावशेषभित्रबाट आएको उनको क्षीण आवाज पहिलो पटक सुनेपछि अभियानलाई तीव्र बनाएको थियो ।

त्यसपछि सानो सुरुङ निर्माण गर्दै पानी, अक्सिजन र आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराइएको थियो । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर राख्न सलाइनसमेत दिएका थिए ।

उद्धारमा संलग्न चिली, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, पोर्चुगल, संयुक्त राज्य अमेरिका तथा भेनेजुएलाका विशेषज्ञ टोलीहरूले लगातार प्रयास गरेपछि गिललाई सुरक्षित रूपमा बाहिर निकाल्न सफलता मिलेको हो । उद्धारकर्मीहरूका अनुसार अभियानका क्रममा बनाइएका पहुँच सुरुङ पटकपटक भत्किएकाले उनीहरू स्वयं पनि उच्च जोखिममा थिए ।

मेक्सिको रेडक्रसका उद्धारकर्मी मार्को एन्टोनियो फ्रान्कोले गिललाई कठिन परिस्थितिमा पनि उत्साही र हँसिलो स्वभावका व्यक्ति भएको बताए । उद्धारपछि उनलाई थप उपचारका लागि अस्पताल लगिएको छ । ८ दिनसम्म भग्नावशेषभित्र जीवित रहँदै सुरक्षित उद्धार हुन सफल भएको यो घटनालाई भूकम्पपछिको उद्धार अभियानकै एक असाधारण सफलताका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.