
जनकपुरधाम । नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई पाँच वर्षको कैद सजाय भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ ।
महोत्तरीको गौशालाबाट बिहीबार साँझ पक्राउ परेका कोइरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आवश्यक प्रक्रिया पूरा भएपछि उनलाई कैद सजाय कार्यान्वयनका लागि जलेश्वर कारागार पठाइएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।
कोइरी दोस्रो मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको घटनासम्बन्धी मुद्दामा दोषी ठहर भएका हुन् । यसअघि महोत्तरी जिल्ला अदालतले उक्त मुद्दामा उनलाई सफाइ दिएको थियो । तर, उच्च अदालत जनकपुरको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बुधबार उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
उच्च अदालतको फैसला सार्वजनिक भएसँगै प्रहरीले उनलाई महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो । पक्राउपछि कानुनी प्रक्रिया पूरा गरी शुक्रबार जलेश्वर कारागार चलान गरिएको छ ।
उच्च अदालतको फैसलासँगै लामो समयदेखि चर्चामा रहेको थमन बिक हत्या प्रकरणले नयाँ मोड लिएको छ । अब कोइरीले अदालतले तोकेको पाँच वर्षको कैद सजाय कारागारमै भुक्तान गर्नेछन् ।



















