शारीरिक सुगठनमा बिनुलाई दोहोरो पदक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २०, शनिबार १७:५३
शारीरिक सुगठनमा बिनुलाई दोहोरो पदक

काठमाडौं । नेपालकी बिनु जिटीले १६ औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दोहोरो पदक जितेकी छन् । भुटानको थिम्पुमा भएको प्रतियोगिताको अन्तिम दिन शनिबार बिनुले महिला स्विमसुटमा स्वर्ण र मोडल फिजिकमा रजत जितेकी हुन् ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीका अनुसार अन्तिम दिन नेपालले थप १–१ स्वर्ण र रजत पनि जितेको छ । पुरुष ८० केजीमा सगेन्द्र सिंहले स्वर्ण जिते । महिला टिम च्याम्पियनसिपमा नेपालले रजत प्राप्त गर्‍यो । पुरुष ७५ केजीमा दीपजंग रोका मगर पाँचौँ भए ।

प्रतियोगितामा नेपालले जम्मा ३ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्यो । यसअघि पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले स्वर्ण, महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत र पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कांस्य हात पारेका थिए ।

दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि निरन्तर सहभागी नेपालको कुल पदक संख्या १५ स्वर्ण, १९ रजत र २० कांस्य पुगेको छ । नेपाली टोली आइतबार स्वदेश फर्कँदै छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.