झापामा खाद्यान्न उत्पादन घट्दो 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार ११:५०
  झापामा खाद्यान्न उत्पादन घट्दो 

झापा । झापा जिल्लामा खाद्यान्न बालीको उत्पादन र खेती गरिने क्षेत्रफल दुवैमा कमी आएको छ। झापामा ७ लाख ६१ हजार ४३२ मेट्रिक टन खाद्यान्न उत्पादन भएको झापाको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

झापाको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार आर्थिक वर्ष २०८२ / ८३ मा बर्खे धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी ६ प्रकारका ७ लाख ६१ हजार ४३२ दशमलव ७८ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।

सो अवधिमा चैते धान ८९ हजार ६५५.३ मेट्रिक टन, बर्खे धान ३ लाख ७७ हजार ५३४.३५ मेट्रिक टन, मकै २ लाख ८३ हजार १८७.८८ मेट्रिक टन, कोदो ८६९.४७ मेट्रिक टन उत्पादन भएको छ। फापर ३ हजार ७५८.७ मेट्रिक टन, गहुँ ६ हजार ४१९ मेट्रिक टन र जौ ८.१ एक मेट्रिक टन उत्पादन भएको विष्टले बताए ।

पछिल्लो ३ वर्षयता खेतीको क्षेत्रफल र उत्पादन दुवै घट्दै गएको छ। आर्थिक वर्ष २०८० / ८१ मा १ लाख ४३ हजार ८१५ हेक्टरमा बर्खे धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ खेती गरिएको थियो । जसमा यी ६ प्रकारका खाद्यान्न ८ लाख ६३ हजार २३८.८ मेट्रिक टन उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०८१ / ८२ मा १ लाख ४५ हजार ३२६.०६ हेक्टरमा ८ लाख ५२ हजार २०८.२५ मेट्रिक टन  खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्रको खाद्यान्न बालीहरूको तथ्यांक विवरणमा उल्लेख छ।

यता, चालु आर्थिक वर्ष २०८२ / ८३ मा १ लाख ३० हजार ३८६ हेक्टरमा ७ लाख ६१ हजार ४३२.७९ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा ती ६ बालीको खेतीको क्षेत्रफल १४ हजार ९४० हेक्टर घटेको छ भने ९० हजार ७७५ मेट्रिक टन खाद्यान्न उत्पादनमा कमी आएको छ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.