कानुन शिक्षामा असमानता, एलएलबीको शुल्कमा विभेद

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ असार २६, शुक्रबार १३:४१

विराटनगर । एउटै विश्वविद्यालय, एउटै पाठ्यक्रम, एउटै प्रवेश परीक्षा र उत्तीर्ण भएपछि पाइने प्रमाणपत्र पनि एउटै । तर, तीन बर्से स्नातक तह एलएलबी अध्ययनका लागि विद्यार्थीले तिर्नुपर्ने शुल्क भने क्याम्पसअनुसार जमिन र आकाशको जस्तो फरक छ । त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्गत सञ्चालित एलएलबी कार्यक्रममा क्याम्पसपिच्छे फरक–फरक शुल्क तोकिँदा मध्यम तथा न्यून आय भएका विद्यार्थीहरू ठूलो आर्थिक मारमा परेका छन् ।

पूर्वी नेपालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत एलएलबी अध्ययनको इतिहास विक्रम संवत २०४२ सालदेखि सुरु भएको हो । त्यतिबेला धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कानुन संकाय स्थापना भएपछि करिब ४० वर्षसम्म कोशी प्रदेशका विद्यार्थीका लागि धरान नै एकमात्र विकल्प थियो ।

Advertisement

यस शैक्षिक सत्रदेखि विराटनगरस्थित डिग्री क्याम्पस (स्नातकोत्तर क्याम्पस)ले पनि पहिलोपटक तीन बर्से एलएलबी सञ्चालनको अनुमति पाएको छ । यसले मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा र उदयपुरलगायतका जिल्लाका विद्यार्थीलाई आफ्नै पायक पर्ने ठाउँमा कानुन पढ्ने नयाँ अवसर दिएको छ । तर, क्याम्पसहरूले सार्वजनिक गरेको असमान शुल्क संरचनाले विद्यार्थीको खुसीलाई चिन्तामा बदलिदिएको छ ।

यस वर्ष देशभरका १२ वटा क्याम्पसमा करिब ३ हजार ८ सय सिट निर्धारण गरेर डिन कार्यालयले प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिसकेको छ । तर, कोशी प्रदेशकै दुई क्याम्पसबीचको शुल्क अन्तरले विद्यार्थीहरू रनभुल्लमा परेका छन् । विगत लामो समयदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले करिब ३० हजार रुपैयाँ शुल्क लिँदै आएको छ ।

तर, यसै शैक्षिक सत्रदेखि पहिलोपटक कार्यक्रम सुरु गरेको विराटनगरको डिग्री क्याम्पसले भने ५४ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । एउटै प्रदेशभित्रका दुई आंगिक क्याम्पसमा यसरी शुल्क फरक हुँदा विद्यार्थी अलमलमा परेका हुन् ।

काठमाडौंको पद्मकन्या बहुमुखी क्याम्पसले कुल शुल्क करिब ८५ हजार र भक्तपुर बहुमुखी क्याम्पसले झण्डै ९० हजार रुपैयाँ पुग्ने शुल्क संरचना सार्वजनिक गरेका छन् । नेपाल ल क्याम्पस, काठमाडौंले त भर्नाकै क्रममा निर्माण कोष, विकास कोष, पुस्तकालय, स्वास्थ्य बीमा, खेलकुद जस्ता विविध शीर्षकमा अतिरिक्त रकम असुलिरहेको छ । जसको औचित्यमाथि विद्यार्थी संगठनहरुले प्रश्न उठाएका छन् ।

शुल्कको यही असमानता र विद्यार्थीको गुनासोका बारेमा डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख एवं सह–प्राध्यापक ढकबहादुर मगर फरक तर्क राख्छन् । क्याम्पस प्रमुख मगरका अनुसार नयाँ कार्यक्रम सञ्चालन गर्दा व्यवस्थापकीय खर्च बढी हुने भएकाले यो शुल्क निर्धारण गरिएको हो ।

‘हामीले एलएलबी कार्यक्रम यसै शैक्षिक सत्रदेखि पूर्ण रूपमा नयाँ सुरुवात गरेका हौं । पुराना क्याम्पसहरू जस्तै धरानमा भौतिक पूर्वाधार, पुस्तकालय र जनशक्ति पहिलेदेखि नै स्थापित छन् । त्यसैले त्यहाँ लागत केही कम हुन सक्छ,’ क्याम्पस प्रमुख मगरले भने, ‘तर, हाम्रोमा नयाँ कक्षाकोठा व्यवस्थापन, कानुनका लागि छुट्टै नयाँ पुस्तकालय स्थापना, पुस्तक खरिद र थप आन्तरिक स्रोत परिचालन गर्नुपर्ने बाध्यता छ । यो शुल्क हामीले मनपरी ढंगले राखेका होइनौं । क्याम्पस सञ्चालन समिति, प्राध्यापक र सरोकारवालाहरूसँगको व्यापक छलफल तथा त्रिविको नियम र परिधिभित्रै रहेर तोकेका हौं । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र सेवा दिने हाम्रो मुख्य उद्देश्य हो र यसका लागि यो न्यूनतम शुल्क आवश्यक परेको हो ।’

अधिवक्ता एवं उच्च अदालत विराटनगर बार एसोसिएसनका पूर्वसचिव विनोदकुमार तिमल्सिना भने विश्वविद्यालयले शुल्कमा एकरूपता ल्याउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘विराटनगरको डिग्री क्याम्पसमा एलएलबीको पढाइ सुरु हुनु समग्र कोशी प्रदेशकै लागि गौरवको कुरा हो । तर, एउटै विश्वविद्यालयको एउटै उपाधिका लागि विद्यार्थीले ठाउँ हेरेर तेब्बरसम्म बढी शुल्क तिर्नुपर्ने अवस्था आउनु सरासर अन्याय हो । विश्वविद्यालय नियमनकारी निकाय हो, उसले शुल्कको एउटा अधिकतम सीमा तोक्नै पर्छ । अन्यथा, पैसा नभएकै कारण क्षमतावान् र जेहेन्दार विद्यार्थीहरू कानुन शिक्षाबाट वञ्चित हुनेछन् । जसले भोलिको न्याय सम्पादन क्षेत्रमै असर पुर्‍याउनेछ ।’

एलएलबी यस्तो विधा हो जसमा जागिरे, लोकसेवा तथा न्याय सेवाको तयारी गरिरहेका र मध्यमवर्गीय परिवारका विद्यार्थीहरूको आकर्षण बढी हुन्छ । कोशी प्रदेशका ग्रामीण क्षेत्रबाट विराटनगर वा धरानमा पढ्नुपर्ने विद्यार्थीहरूका लागि यो शुल्क निकै महँगो साबित भएको छ । शुल्क मात्र नभएर सहरमा बस्दा लाग्ने कोठा भाडा, यातायात, महँगा पुस्तक र इन्टरनेटको खर्च जोड्दा तीन वर्षको कानुन अध्ययन लाखौं रुपैयाँ खर्चिलो बन्न पुग्छ । यही आर्थिक बोझका कारण कतिपय जेहेन्दार विद्यार्थीले बीचमै अध्ययन छाड्नुपर्ने वा चाहेको क्याम्पस रोज्न नसक्ने अवस्था सिर्जना भएको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रवेश परीक्षा र पाठ्यक्रममा कडा नियम लागू गरे पनि शुल्क निर्धारणमा भने क्याम्पसहरूलाई मौन स्वीकृति दिएको देखिन्छ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य योगराज दाहालका अनुसार विश्वविद्यालयले न्यूनतम र अधिकतम शुल्कको स्पष्ट मापदण्ड नबनाउँदा क्याम्पसहरूले आफ्नै ढंगले शुल्क तोक्ने गरेका छन् । यदि शुल्कको यो असमानतालाई समयमै रोक्न सकिएन भने आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरू कानुन शिक्षाबाटै विमुख हुनेछन् र न्याय क्षेत्रमा धनी वर्गको मात्र पहुँच स्थापित हुने जोखिम बढ्ने विद्यार्थी नेता दाहालको भनाइ छ ।

विराटनगरमा कार्यक्रम विस्तार हुनु कानुन शिक्षाका लागि कोशी प्रदेशकै एउटा ऐतिहासिक उपलब्धि भए पनि अवसरसँगै गुणस्तर र समानता पनि जोडिएर आउनुपर्ने उनले बताए । अहिले कोशी प्रदेशदेखि काठमाडौंसम्मका कानुनका विद्यार्थी र सरोकारवालाहरूले त्रिभुवन विश्वविद्यालयको कानुन संकाय डिन कार्यालयसँग एकै स्वरमा शुल्कको सीमा तोक्न, भर्नाकै समयमा सबै शुल्क पारदर्शी बनाउन र शुल्क वृद्धिको प्रतिस्पर्धा गर्नुको सट्टा सबै क्याम्पसमा समान मापदण्ड लागू गर्न माग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टी
बाढीपीडितका लागि सत्तारुढ रास्वपाले ५० लाख दिने
बाढीपछि ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी र बैंकका २६ कर्मचारी सम्पर्कविहीन
इटहरीका डीएसपी सुवास हमाल सर्वोत्कृष्ट प्रहरी
बाढी प्रभावितको उद्धारमा जुट्न कांग्रेस र एमालेको आग्रह
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारका १० निर्णय
भारत, चीन र विश्व बैंकको सहयोग प्रस्ताव, ‘के चाहिन्छ, सूची पठाउनुस्’
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गर्न ओलीको आग्रह
रसुवाका सबै स्थानीय तह संकटग्रस्त क्षेत्र घोषित
बाढीमा मृत्यु हुनेको संख्या २० भन्दा बढी पुग्यो, घाइतेहरुको उपचार हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×