उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १९:२२
उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्वपश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार गाडी र बिरामी लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना २ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केबरबाट बर्दिबासतर्फ जाँदै गरेको उपमेयर सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकापसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा एम्बुलेन्स चालकसहित त्यसमा सवार ५ जना र उपमेयरको गाडीमा सवार ३ जना गरी ८ जना घाइते भएका छन् । घाइते हुनेहरूमा धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल, ७० वर्षीय भीमराज भुजेल र धनुषाधाम–८ का ५० वर्षीय बद्री भुजेल रहेका छन् ।

यस्तै, एम्बुलेन्स चालक मिथिला–१ का ४९ वर्षीय दीपेन्द्रकुमार महतो, महोत्तरी गौशाला–५ का ४५ वर्षीय वसन्तकुमार सिंह, सोही स्थानकी ४० वर्षीया रेणु कुमारी महतो, धनुषा मिथिला–९ की ६० वर्षीया राजु देवी र सोही स्थानका ६५ वर्षीय लक्ष्मी महतो घाइते भएका छन् ।

घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.