भानु जयन्तीमा कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार १३:३१

विराटनगर । विराटनगर महानगरपालिका– ५ स्थित एभरेष्ट माध्यामिक विद्यालयले भानु जयन्तीका अवसरमा सोमबार कविता वाचन प्रतियोगिता र स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का २४ प्रतियोगीले विभिन्न शीर्षकमा कविता वाचन गरेका थिए । तीमध्ये उत्कृष्ट चार जनालाई नगदसहित ट्रफीले पुरस्कृत गरिएको छ ।

‘भानु हेर तिम्रो देश’ शीर्षकमा कविता वाचन गर्ने कक्षा १२ की छात्रा सौमिका ढकाल प्रथम हुँदै नगद १० हजार राशि प्राप्त गरिन् । यस्तै, कक्षा १२ का प्रेम खतिवडा ‘फर्कि आउ घर’ शीर्षकको कविता वाचन गर्दै द्धितीय भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

‘प्रकृतिको मौन पुकार’ शीर्षकमा कविता वाचन गरेका कक्षा ११ का आर्जन बरालले तृतीय हुँदै नगद ५ हजार पाए । कक्षा १२ का रियोज मास्केले ‘मुकुन्डो र मुकुट’ शीर्षकमा कविता वाचन गर्दै सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उनी नगद ३ हजार रूपैयाँसहित पुरस्कृत भए ।

साहित्यकार कवयित्री निर्मला कोइराला र कवि मीनकुमार नवोदित निर्णायक रहेको कार्यक्रममा प्रतियोगीहरुले विभिन्न क्षेत्रका विषयलाई समेटेर कविता वाचन गरेका थिए । कार्यक्रमका अवसरमा साहित्यकार तथा कवि रोहिणी रसिकलाई सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा राष्ट्रियसभाका पूर्वसदस्य खेम नेपाली र विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले दोसल्ला, सम्मानपत्र र नगद १५ हजार ५ रुपैयाँले सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले कविताका माध्यमबाट ठूला–ठूला परिवर्तन सम्भव रहेको भन्दै विद्यार्थीहरुलाई निरन्तरताका लागि हौसला प्रदान गरे । उनले कविताले देशको संस्कृति, सभ्यता र इतिहासलाई जीवन्त राख्ने भन्दै त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

२१३ औं जन्मजयन्ती मनाइरहँदा पनि भानुभक्तका अमर कृतिहरु ताजै रहेको चर्चा गर्दै नेपालीले कला र साहित्यले मानिसलाई सदैव अमर राख्ने बताए । कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल पुरीले समयक्रम सँगै पुस्तान्तरण र हस्तान्तरण हुनु प्रकृतिको नियम रहेको बताए ।

उनले पुस्तान्तरण र हस्तान्तरणको नाममा इतिहास र अग्रजको अवमूल्यन भने गर्न नहुने बताए । नयाँका नाममा विगतका इतिहास मास्न थालियो भने त्यसले अस्तित्व नै धरापमा पर्ने र अग्रजहरूप्रति अपमान हुने उनको भनाइ थियो ।

कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान गर्नु पनि भानुभक्तले नेपाली साहित्यमा पुर्‍याएको योगदानको स्मरण गर्न एवं गराउनका लागि रहेको पुरीको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, शिक्षकहरु तथा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.