होर्मुज जलडमरूमध्य ठप्प, तेल बजार त्रसित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार १४:२४

एजेन्सी । अमेरिका–इरान युद्ध चर्किएपछि विश्व तेल बजार त्रसित बनेको छ । फेब्रुअरी २०२६ मा सुरु भएको जुन महिनाको युद्धविराम सम्झौतापछि केही सेलाएको थियो ।

जुलाई ६ र ७ मा होर्मुज जलडमरूमध्यमा तीनवटा जहाजमा आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम समाप्त भएको घोषणा गरेका थिए । त्यसयता अमेरिकी सेनाले इरानमाथि लगातार आक्रमण बढाइरहेको छ । शनिबार साइप्रस झण्डा बोकेको एउटा कन्टेनर जहाजमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्पले आक्रमण गरेपछि एक जना चालक हराएका छन् ।

यसको प्रतिक्रियामा अमेरिकी सेनाले यस हप्ताकै तेस्रो चोटि झन्डै १४० इरानी सैन्य लक्ष्यमा हमला गर्यो । जसलाई हप्तायताकै सबैभन्दा ठूलो कारबाही मानिएको छ । यता इरानी गार्डले भने अनधिकृत मार्ग प्रयोग गर्ने जहाजलाई गोली हानेको र जलडमरूमध्य नै बन्द घोषणा गरेको जनाएको छ ।

इरानले बाहिरी शक्तिको हस्तक्षेप भन्दै कडा आपत्ति जनाएको छ । अमेरिका र इरानबीचको तनावले होर्मुज जलडमरूमध्य ठप्प बनेको छ । द्वन्द्वको आगो अरू मुलुकसम्म पनि फैलिइसकेको छ ।

इरानी गार्डले जोर्डनको प्रिन्स हसन एयर बेसमा ‘प्रतिशोधात्मक हमला’ गरिएको दाबी गरेको छ । संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोन खतराको जवाफ दिइरहेको बताएको छ । यो युद्ध फेब्रुअरी २८ मा अमेरिका–इस्राइली हवाई आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खमेनी लगायत धेरै अधिकारीको मृत्यु भएपछि सुरु भएको थियो ।

खमेनीका छोरा मोज्तबा खमेनी मार्चमा नयाँ सर्वोच्च नेता चयन भएयता सार्वजनिक रूपमा देखिएका थिएनन् । तर, शनिबार इरानी सरकारी सञ्चारमाध्यमबाट जारी वक्तव्यमा उनले आफ्ना पिताको हत्याको बदला लिने प्रतिज्ञा गरेका छन् ।

तनावका बीच पनि कूटनीतिक प्रयास रोकिएका छैनन् । इरानी परराष्ट्रमन्त्री अब्बास अराघचीले ओमानी समकक्षीसँग शुक्रबार भेटेर होर्मुज जलडमरूमध्यकै विषयमा छलफल गरेका थिए । ओमानले जलमार्ग ट्राफिक व्यवस्थापनका लागि एउटा प्रस्ताव तयार पारेको जनाइएको छ ।

तर, अमेरिकी अधिकारीहरूले जहाजको सुरक्षित आवतजावत सुनिश्चित नभएसम्म तेहरानसँगको वार्ता अगाडि बढ्न नसक्ने प्रस्ट पारेका छन् । अन्तर्राष्ट्रिय सामुद्रिक संगठनले पनि आफ्ना १७६ सदस्य राष्ट्रलाई होर्मुज जलडमरूमध्यमाथिको इरानको सार्वभौमिकताको दाबी नमान्न आग्रह गरेको छ ।

द्वन्द्वको प्रत्यक्ष असर विश्व व्यापारमा स्पष्ट देखिन थालेको छ । बिहीबार जलडमरूमध्य पार गर्ने जहाजको संख्या घटेर ३४ मा झरेको छ । दक्षिणी मार्गबाट कुनै ठूला जहाज ट्रान्जिट नभएको लोइड्स लिस्ट सामुद्रिक अनुसन्धान समूहले जनाएको छ । यता युद्ध सुरु हुनुअघि प्रति ग्यालन २.९८ डलर रहेको सामान्य पेट्रोलको मूल्य युद्धविरामको भविष्य अनिश्चित हुँदै जाँदा फेरि बढ्न थालेको छ । मूल्यवृद्धिले विश्व ऊर्जा बजारमा नयाँ चिन्ता थपेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.