
विराटनगर । मोरङको बेलबारी नगरपालिका–४ बुधबारेबाट प्रहरीले नगद र लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित एक जनालाई पक्राउ गरेको छ ।
बेलबारी–४ का ३५ वर्षीय सुनील राई पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले मंगलबार साँझ ७ः३० बजेतिर राईलाई पक्राउ गरेको हो ।
लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी खटिएको थियो । राईलाई शंका लागेर चेकजाँच गर्दा साथबाट विभिन्न दरका नेपाली नोट र लागुऔषध बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार राईको साथबाट ७२ हजार रूपैयाँ र ६१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
राईविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उनी लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।



















