नयाँ आर्थिक वर्ष सुरु, २१ खर्ब २४ अर्बको बजेट कार्यान्वयनमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार ०६:४३

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३–८४ आज (शुक्रबार)देखि सुरु भएको छ । आर्थिक वर्ष २०८२–८३ सकिएर नयाँ आर्थिक वर्ष सुरु भएको हो ।

सरकारले यसअघि नै सार्वजनिक गरेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट नयाँ आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयनमा आएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट लागू भएको हो । सरकारले यस वर्ष पनि बजेटको ठूलो हिस्सा चालु खर्चमै विनियोजन गरेको छ ।

कुल बजेटमध्ये १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत चालु खर्चका लागि छुट्याइएको छ । त्यस्तै, ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ भने ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत वित्तीय व्यवस्थापनतर्फ राखिएको छ ।

बजेट कार्यान्वयनका लागि सरकारले १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको छ भने २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋणबाट जुटाइने योजना छ । बाँकी ४ खर्ब १९ अर्ब रुपैयाँ आन्तरिक ऋणमार्फत व्यवस्थापन गर्ने सरकारको लक्ष्य रहेको छ ।

यसअघि आर्थिक वर्ष २०८२–८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । त्यसको तुलनामा चालु आर्थिक वर्षको बजेटको आकार बढाइएको छ ।

सरकारले बजेटमार्फत आर्थिक वृद्धि, पूर्वाधार विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि र निजी क्षेत्रको लगानी प्रनर्धनलाई प्राथमिकतामा राखिएको दाबी गरेको छ । अब बजेटको प्रभावकारी कार्यान्वयन नै सरकारका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा रहनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.