अमेरिका–इरान युद्ध चर्कियो, बन्दरगाहदेखि ऊर्जा पूर्वाधारसम्म भीषण आक्रमण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार ०६:१६

एजेन्सी । अमेरिका र इरानबीच एक महिनाअघि भएको युद्धविराम प्रभावहीन बनेपछि दुवै देशले फेरि व्यापक मिसाइल र ड्रोन आक्रमण सुरु गरेका छन् ।

पछिल्लो घटनाक्रममा इरानले अमेरिकी आक्रमणबाट आफ्नो दक्षिणी तटीय क्षेत्रका महत्वपूर्ण नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको दाबी गरेको छ भने इरानी आक्रमणबाट कुवेतका ऊर्जा तथा पानी आपूर्ति संरचनामा पनि क्षति पुगेको जनाइएको छ । इरानका अनुसार शुक्रबार अमेरिकी सेनाले मकरान क्षेत्रस्थित चाबहार बन्दरगाहको समुद्री यातायात नियन्त्रण टावरमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

Advertisement

इरानी समाचार संस्था तस्निमका अनुसार पूर्ण रूपमा नागरिक प्रयोजनमा प्रयोग हुने उक्त संरचना ध्वस्त भएको छ । इरानले यसलाई अन्तर्राष्ट्रिय मानवीय सिद्धान्तविपरीत नागरिक पूर्वाधारमाथिको आक्रमण भन्दै समुद्री सुरक्षा र माछा मार्ने समुदायको जीविकामाथि प्रत्यक्ष असर परेको जनाएको छ ।

इरानी अधिकारीहरूले अमेरिकाले दक्षिणी इरानका विभिन्न पुल तथा बन्दर अब्बासतर्फ जाने यातायात संरचनालाई पनि निशाना बनाएको आरोप लगाएका छन् । यसअघि बन्दर अब्बासस्थित रेल जङ्सनमा पनि आक्रमण भएको थियो । सरकारी सञ्चारमाध्यमका अनुसार पछिल्ला आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

अमेरिकी आक्रमणको जवाफस्वरूप इरानले आफ्नो प्रतिआक्रमणको १५औँ चरणअन्तर्गत कतारस्थित अमेरिकी अल उदैद हवाई अड्डालाई लक्ष्य बनाएको दाबी गरेको छ । इस्लामिक रिभोलुसनरी गार्डका अनुसार लामो दूरीको राडार प्रणाली तथा अमेरिकी सेनाका केही रणनीतिक इन्धन भर्ने विमानमा क्षति पुगेको छ । यद्यपि, अमेरिकी पक्षले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

यसैबीच, इरानी आक्रमणको असर छिमेकी कुवेतमा पनि परेको छ । कुवेतको विद्युत् मन्त्रालयले इरानी आक्रमणका कारण एउटा विद्युत् उत्पादन केन्द्र र एउटा डिसेलिनेसन (समुद्री पानी प्रशोधन) प्लान्टमा आगलागी भई उत्पादन एकाइहरू प्रभावित भएको जनाएको छ । क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन भने कुनै मानवीय क्षति भएको वा नभएकोबारे पनि पुष्टि गरिएको छैन । मन्त्रालयले नागरिकलाई विद्युत्को मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ ।

तेहरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य तथा रणनीतिक सम्पत्तिलाई निरन्तर निशाना बनाइरहेको जनाएको छ । इरानका अनुसार अमेरिकी सेनाले विमानस्थल, रेल–वे स्टेसन, पुललगायत नागरिक पूर्वाधारमा आक्रमण गरेपछि प्रतिकारात्मक कारबाही तीव्र पारिएको हो । इरानी सञ्चारमाध्यमले पछिल्ला अमेरिकी आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु र २० जना घाइते भएको दाबी गरेका छन् ।

इरानी रिभोलुसनरी गार्डका एयरोस्पेस फोर्सका कमान्डर माजिद मुसावीले दक्षिणी तटीय क्षेत्र र होर्मुज जलडमरूमध्य आसपास अमेरिकी सैन्य गतिविधि नरोकेसम्म लक्षित आक्रमण जारी रहने चेतावनी दिएका छन् । इरानी सेनाले आफ्नो भूमिमा आक्रमण भए खाडी क्षेत्रभर रहेका अमेरिकी पूर्वाधारलाई पनि निशाना बनाइने दोहोर्‍याएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि थप कारबाही हुन सक्ने संकेत दिएका थिए । तर, पछिल्ला आक्रमणका बारेमा अमेरिकी प्रशासनले औपचारिक प्रतिक्रिया दिएको छैन ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको यो युद्ध एक महिनाअघि भएको युद्धविरामपछि केही समय शान्त देखिए पनि अहिले फेरि तीव्र बन्दै गएको छ । दुवै पक्षबाट नागरिक तथा रणनीतिक पूर्वाधारलाई लक्ष्य बनाइएका आक्रमणले खाडी क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको विश्लेषण गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×