
कला समाजको चेतना जगाउने माध्यम हो, समाजलाई विकृत बनाउने हतियार होइन । कलाकार समाजका आदर्श पात्र मानिन्छन्, तर जब कलाकारले लोकप्रियता र व्यापारिक सफलताका लागि शिक्षण जस्तो सम्मानित पेसालाई बजारमा बेच्ने वस्तु बनाउँछन्, त्यति बेला त्यो सिर्जना कला होइन, सामाजिक उत्तरदायित्वबाट पलायन भएको मानिन्छ ।
‘मास्टर्नी’ शीर्षकको अश्लील भिडियो र त्यससँग जोडिएका केही प्रचार सामग्रीले शिक्षण पेसाको सम्मानलाई मनोरञ्जनको नाममा विवाद, उत्तेजना र सनसनीसँग जोडेको छ । यो केवल एउटा गीति भिडियोको विवाद होइन, यो शिक्षा, संस्कृति र सामाजिक मूल्यप्रतिको दृष्टिकोणको परीक्षा हो । गीतहरूमा प्रयोग गरिएका तुच्छ शब्द, दृश्य, प्रस्तुति र प्रचार शैलीले यस्तो सन्देश दिन्छ कि शिक्षकको पहिचान पनि अब व्यापारिक चर्चाको माध्यम बनाउन सकिन्छ । यदि सम्मानित पेसाको नामलाई नै अशोभनीय प्रस्तुतीकरणसँग जोडेर लोकप्रियता खोज्ने प्रवृत्ति सामान्य बन्ने हो भने समाजले भोलि आफ्ना गुरु, चिकित्सक, न्यायाधीश वा अन्य पेसाप्रति कस्तो दृष्टिकोण विकास गर्ने ? यस गीतबाट समाजले के सिक्ने ? विद्यार्थीले शिक्षकलाई सम्मान गर्ने कि उपहास गर्ने ?
अभिभावकले शिक्षकलाई आदर्श मान्ने कि मनोरञ्जनको पात्र ?
सिर्जनात्मक स्वतन्त्रताको नाममा कुनै सम्मानित पेसाको सामाजिक छवि कमजोर बनाउने अधिकार कसैलाई छैन । कलाकारको लोकप्रियता त समाजको सम्मान र मन जितेर आउनुपर्छ, समाजका आधार स्तम्भहरूको गरिमा घटाएर होइन । एउटा शिक्षकको पहिचानलाई अश्लीलतासँग जोड्ने प्रयासले सिर्जनाकर्ताको सामाजिक चेतनामाथि नै प्रश्न उठाएको छ । यसका कलाकारहरूलाई एउटा प्रश्न सोध्नै पर्छ – के शिक्षक भनेको तपाईंहरूको नजरमा यही हो ?
शिक्षकलाई विद्यार्थीले र समाजले आदर्श मान्छन् । अभिभावकले आफ्ना सन्तानको भविष्य जिम्मा लगाउँछन् । राष्ट्रले पुस्ता निर्माण गर्ने जिम्मेवारी दिन्छ, तर यही पेसालाई सस्तो मनोरञ्जनको माध्यम बनाउनु केबल एउटा गीतको विषय होइन, यो सामाजिक उत्तरदायित्वको विफलता हो । यो गीतले एउटा खतरनाक सन्देश दिन खोजेको देखिन्छ—सम्मानित पेसाको नाम बेच, विवाद सिर्जना गर, अनि लोकप्रिय बन । अझ दुःखद कुरा त के छ भने, आजका विद्यार्थीले शिक्षकलाई अब ज्ञान दिने गुरुका रूपमा सम्झने कि ‘मास्टर्नी गीत’ मा शिक्षिका मित्रप्रतिको अपमानलाई गीतका पात्रका रूपमा ? एउटा गीतले विद्यालयभित्र शिक्षकप्रतिको दृष्टिकोण नै बिगार्न सक्छ भन्ने कुरा सिर्जनाकर्ताले किन सोचेनन् ? यो गीतले कलाको स्तर नै घटाएको छ र विवाद सिर्जना गरेर चर्चा कमाउने पुरानै प्रवृत्तिलाई दोहोर्याएको छ । जब सिर्जनामा विचार सकिन्छ, तब विवाद बेच्ने प्रयास सुरु हुन्छ ।
विवादले केही दिनको चर्चा त दिलाउन सक्छ तर सफलता कहिल्यै दिलाउँदैन । भोलि विद्यार्थीले आफ्नै शिक्षकलाई यही गीतका संवाद र दृश्य सम्झेर जिस्क्याए भने त्यसको नैतिक जिम्मेवारी कसले लिने ? कलाकारले ? निर्माता कम्पनीले ? कि ‘यो त मनोरञ्जन मात्र हो’ भनेर सबै जिम्मेवारीबाट पन्छिने ? यदि कुनै सामग्रीले ठुलो समुदाय विशेष गरी शिक्षक, अभिभावक र विद्यार्थीमाझ गम्भीर असन्तुष्टि, अपमान बोध र गलत सामाजिक सन्देश फैलाइरहेको छ भने सम्बन्धित निकायहरूले त्यसको समीक्षा गर्नु आवश्यक हुन्छ ।
त्यसैले कुनै पनि कलाकार, निर्माता वा निर्देशकले यो बुझ्नुपर्छ कि राष्ट्रका गुरुहरूलाई विवाद र उत्तेजना बेच्ने साधन बनाउने अधिकार कसैलाई छैन । यदि हामी आज मौन बस्यौँ भने भोलिका पुस्ताले शिक्षकलाई ज्ञानको स्रोतभन्दा मनोरञ्जनको पात्रका रूपमा बुझ्ने खतरा बढ्न सक्छ । त्यसैले कानुन बमोजिम शिक्षकको गरिमामाथि चोट पुर्याएको यो सामग्री हटाउन र प्रसारणमा रोक लगाउन नियामक निकाय सेन्सर बोर्डको बेलैमा ध्यान जाओस् ।
(लेखक शिक्षक हुन्)

























