प्रहरी महानिर्देशक आफ्नै कार्यालयभित्र मृत फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ५, मंगलबार ०७:२२

एजेन्सी । भारतको त्रिपुरा राज्यका प्रहरी महानिर्देशक (डीजीपी) अनुराग धनखड आफ्नै कार्यालयभित्र मृत फेला परेका छन् ।

अगरतलास्थित राज्य प्रहरी मुख्यालयमा रहेको आफ्नै कार्यकक्षसँग जोडिएको शौचालयमा उनी सोमबार दिउँसो अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई तत्काल अगरतला सरकारी मेडिकल कलेज तथा गोविन्द बल्लभ पन्त अस्पताल लगिएको थियो । चिकित्सकले परीक्षणपछि उनलाई मृत घोषणा गरेका हुन् ।

Advertisement

घटनापछि त्रिपुराका मुख्यमन्त्री माणिक साहा, मुख्य सचिव जेके सिन्हालगायत प्रदेश सरकारका उच्च अधिकारी अस्पताल पुगेका थिए । अस्पतालका चिकित्सा विभाग प्रमुख डा. प्रदीप भौमिकका अनुसार धनखडलाई अस्पताल ल्याउँदा कुनै पनि जीवनचिन्ह थिएन । शवको पोस्टमार्टम प्रक्रिया सुरु गरिएको र त्यसको प्रतिवेदन आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने उनले बताए ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक रूपमा मृत्युको कारणका बारेमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । अनुराग धनखड सन् १९९४ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकारी हुन् । उनले सन् २०२५ मे १७ मा त्रिपुराको प्रहरी महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

डीजीपी नियुक्त हुनुअघि उनले त्रिपुरामा गुप्तचर विभागका प्रहरी महानिर्देशकका रूपमा काम गरेका थिए । यसअघि उनी करिब आठ वर्ष भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)मा कार्यरत थिए भने सन् २००३–०४ मा कोसोभोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा समेत जिम्मेवारी निर्वाह गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×