कोशी प्रदेशबाट मुख्यालय तानिए सशस्त्रका इन्स्पेक्टरदेखि एसपीसम्म, तस्करी चलाएको आरोपमा छानबिन हुँदै

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ श्रावण ८, शुक्रबार १६:३२

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट सशस्त्र प्रहरी बलका इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक)देखि एसपी (सशस्त्र प्रहरी उपरीक्षक)सम्म मुख्यालय तानिएका छन् ।

घुमुवा परिचालन गरी लागुऔषधदेखि विभिन्न वस्तुको तस्करीमा सहयोग गर्दै लाइन चलाएर पैसा असुलेको आरोप लागेपछि उनीहरुलाई सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक तानेर छानबिन एवं अनुसन्धान सुरु गरिएको हो । जिल्लामा सशस्त्र प्रहरी बलको नेतृत्व सम्हालेर बसेका एसपीदेखि गुल्म र बीओपी (बोर्डर आउट पोस्ट)का प्रमुखसम्म मुख्यालय तानिएका हुन् ।

Advertisement

सशस्त्र प्रहरी बल झापाका प्रमुख एवं एसपी अम्बिकाप्रसाद जोशी, सशस्त्रका सुनसरी प्रमुख एवं एसपी श्यामकुमार कार्की, सुनसरीकै प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरमा कार्यरत डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) शम्शेर कार्की, इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती र सुनसरीकै बीओपी लौकहीमा कार्यरत इन्स्पेक्टर नरेन्द्र चन्द मुख्यालयको छानबिन एवं अनुसन्धानमा परेका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी (सशस्त्र प्रहरी नायब महानिरीक्षक) नेत्रबहादुर कार्कीले गम्भीर आरोप लागेपछि केही जिल्ला र युनिटका इन्चार्जहरुलाई हेडक्वार्टर तानेर छानबिन एवं अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

‘बदमासी गर्दै अनुशासनको उल्लंघ गर्ने र विभागको नीति नियम नमान्नेहरुलाई केही दिनअघि हेडक्वार्टर तानेर आन्तरिक रूपमा छानबिन गर्ने काम भइरहेको छ । इन्चार्जहरु मात्रै नभएर बदमासीमा संलग्न भनिएका अरु पदका सशस्त्र कर्मचारीहरु पनि छानबिनमा परेका छन्,’ उनले भने । डीआईजी कार्कीले विभिन्न सूचना, गुनासो एवं आन्तरिक अनुगमनका आधारमा बदमासी गरेको देखिएका र विभिन्न आरोप लागेकाहरुलाई जिम्मेवारीबाट हटाउँदै हेडक्वार्टरमा तानेर कारबाही गर्ने गरिएको बताए ।

उनले राम्रो गर्नेहरुलाई पुरस्कृत पनि गर्ने गरिएको बताए । ‘विभागमा नराम्रो गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कृत गर्ने प्रक्रिया निरन्तर चलिरहन्छ । कसैलाई कुनै आरोप लागेमा वा बदमासी गरेको पाइएमा बोलाउने एवं बुझ्ने र कारबाहीको प्रक्रिया अघि बढाउने काम हुन्छ,’ कार्कीले भने ।

स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेडक्वार्टर झापाका प्रमुख रहेका एसपी अम्बिकाप्रसाद जोशी सशस्त्रका हवल्दार हरि मगरको बयानका आधारमा मुख्यालय तानिएका हुन् । यद्यपि, मगर सशस्त्र प्रहरी बल ३८ नम्बर रिजर्ब गण हेडक्वार्टर पाडाजुंगी झापामा कार्यरत थिए । तर, झापामा सशस्त्रको घुमुवाका रूपमा परिचालित उनले आफूले कोबाट कति रकम उठाएर कसकसलाई बुझाउने गरेको भन्ने बयान दिएको स्रोतले बतायो ।

एसपी जोशीले सशस्त्र प्रहरी कर्मचारीलाई घुमुवाका रुपमा परिचालन गरेर लामो समयदेखि तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्दै असुली धन्दा चलाइरहेको आरोप लागेको छ । सुरुमा मुख्यालयले घुमुवा रहेका मगरलाई तानेको थियो । उनकै बयानका आधारमा एसपी जोशी पनि छानबिन एवं अनुसन्धानको दायरामा परेका हुन् ।

मगरले आफू कार्यरत रहेको ३८ नम्बर रिजर्ब गणका प्रमुख एसपी दिनेश बस्नेतलाई पनि रकम बुझाउने गरेको आरोप लागेको छ । यद्यपि, बस्नेतलाई भने मुख्यालयले हालसम्म छानबिनको दायरामा ल्याएको छैन । मगर लामो समयदेखि झापामा रहेर घुमुवाको काम गरिरहेका सशस्त्रका हवल्दार हुन् ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टर सुनसरीका प्रमुख रहेका एसपी श्यामकुमार कार्की सशस्त्रका जवान पारस यादव लगायतको बयानका आधारमा मुख्यालय तानिएका हुन् । कार्कीमाथि घुमुवा परिचालन गरेर नेपाल–भारत सीमा क्षेत्रबाट ठूलो मात्रामा तस्करीको लाइन चलाएको आरोप लागेको थियो ।

उनले यादव लगायतका सशस्त्र प्रहरी कर्मचारीलाई घुमुवाका रुपमा परिचालन गरेका थिए । यादव यसअघि नै मुख्यालय तानिएका थिए । घुमुवामार्फत विभिन्न सामानदेखि लागुऔषधसम्मको तस्करी गराएर पैसा असुलेको आरोपमा कार्कीमाथि छानबिन एवं अनुसन्धान भइरहेको स्रोतले बतायो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरका डीएसपी शम्शेर कार्कीमाथि नेपाल–भारत सीमा क्षेत्रमा तस्करीको लाइन चलाउन सहयोग गरेको र लागुऔषधका तस्करसँग मिलेमतो गरेर पैसा असुलेको आरोप लागेको थियो । विशेष गरेर पछिल्लो समय हरिपुर हुँदै नेपालबाट भारततर्फ गाँजा र भारतबाट नेपालतर्फ विभिन्न प्रकारका लागुऔषध, लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको तस्करी हुने गरेको थियो ।

त्यसमा सशस्त्र प्रहरीले सहजीकरण गरिरहेको आरोप लागेपछि डीएसपी कार्की नै छानबिन एवं अनुसन्धानको दायरामा परेका हुन् । कार्कीमाथि काँकडभिट्टामा बस्दा समेत ठूलो मात्रामा तस्करीको लाइन चलाएको आरोप लागेको थियो । ‘विशेष गरेर काँकडभिट्टाको विषयलाई लिएर तानिएको हो । सुनसरीमा समेत बदमासी भएको पाइएपछि कार्कीमाथि छानबिन सुरु भएको छ,’ स्रोतले भन्यो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ हेडक्वार्टर इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेतीमाथि झापामा कार्यरत रहँदा तस्करीको लाइन चलाएको आरोप लागेको छ । स्रोतका अनुसार इलाम सरुवा हुनुअघि उनी झापाको काँकडभिट्टास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मका इन्चार्ज थिए ।

काँकडभिट्टामा कार्यरत रहँदा वरिष्ठ हवल्दार केशव गुरुङलाई घुमुवाका रुपमा परिचालन गरेर अवैध धन्दा चलाउँदै पैसा असुलको आरोप उप्रेतीमाथि लागेको हो । गुरुङ यसअघि नै मुख्यालय तानिएका थिए । उनकै बयानका आधारमा हाल इलाममा कार्यरत उप्रेतीलाई पनि हेडक्वार्टर तानेर छानबिन एवं अनुसन्धान सुरु गरिएको मुख्यालयले जनाएको छ ।

सुनसरीको बीओपी लौकहीमा कार्यरत इन्स्पेक्टर नरेन्द्र चन्द विगतदेखि नै विवादित सशस्त्र प्रहरी अधिकृत हुन् । उनीमाथि पनि लागुऔषध र अन्य मालवस्तुको तस्करी गराएर पैसा असुलेको आरोप लागेको थियो । तस्करको समूहसँग साँठगाँठ गरेर रकम असुलेको विषयमा उनीमाथि छानबिन एवं अनुसन्धान भइरहेको हो ।

झापा र सुनसरीमा कार्यरत सशस्त्र प्रहरीका प्रमुखमाथि मुख्यालयले छानबिन गरिरहे पनि ती जिल्लामा नयाँ प्रमुख पठाइएको छैन । दुवै जिल्लामा डीएसपीले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । हाल झापामा डीएसपी मदन रसाइली र सुनसरीमा डीएसपी कृष्ण श्रेष्ठ सशस्त्रको निमित्त प्रमुखको जिम्मेवारीमा छन् ।

पछिल्लो समय तानिएकाहरुमाथि आन्तरिक हिसाबले छानबिन एवं अनुसन्धान चलिरहेको बताउँदै सशस्त्र प्रहरी बलका प्रवक्ता कार्कीले बदमासी प्रमाणित भएमा कारबाही हुने र गलत नदेखिए कार्यरत स्थानमै फिर्ता पठाइने जानकारी दिए । कार्कीले सशस्त्रका जवानदेखि एसपीसम्मलाई विभिन्न समयमा मुख्यालय तानेर छानबिन एवं अनुसन्धानको दायरामा ल्याइएको बताए ।

झापाबाट काठमाडौं तानिएका एसपी जोशीले आफूलाई छानबिनका लागि तानिएको कुरा गलत भएको बताए । ‘मलाई तालिम, गोष्ठी र सीमाको विषयमा बुझ्न बोलाइएको हो । केही अफिसियल विषय बुझ्नुपर्ने होला । तर, छानबिन र अनुसन्धानका लागि तानिएको भनेर अनावश्यक रूपमा हल्ला चलाइयो । पत्रकारले पनि बुझ्दै नबुझिकन समाचार बनाइदिन्छन् । जसलाई जे बोले पनि भयो, जसले जे लेखे पनि हुने रहेछ,’ जोशीले भने ।

जथाभावी समाचार बनाएर आफूविरुद्ध अफवाह फैलाउने काम भएको गुनासो गर्दै उनले व्यक्तिको मर्यादामाथि आँच पुर्याउनु गलत भएको बताए । ‘विभिन्न सञ्चारमाध्यममा अनावश्यक कुरा लेखिएका छन् । मेरो बारेमा लेख्दा मसँग एकपटक पनि सोधिएन । यसले मेरो मर्यादामा आघात पुर्याउने काम गरेको छ,’ एसपी जोशीको गुनासो छ ।

सुनसरीबाट तानिएका एसपी कार्कीले भने ‘केही कुरा बुझ्नु पर्ने भएकाले’ भनेर मुख्यालयले पत्र काटेका कारण काठमाडौं गएको र अरु विषय आफूलाई थाहा नभएको बताए । सबैसँग समन्वय गर्दै सशस्त्रले नेपाल–भारत सीमा क्षेत्रबाट हुने तस्करी रोक्न महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी उनले दिए ।

पैसा उठाउन नभएर अवैध सामान नियन्त्रणमा लिन र बरामद गर्न घुमुवा परिचालन गर्ने गरिएको जानकारी एसपी कार्कीले दिए । घुमुवा परिचालन गरेर पैसा उठाएको आरोप निराधार रहेको उनले बताए । ‘मैले अवैध र गलत धन्दाको पैसा लिएको छैन । सशस्त्रले कति मिहिनेत गरेर काम गरिरहेको थियो भन्ने कुरा जिल्लामा सबै पक्षलाई थाहा छ । मैले पैसा खाएको कुनै प्रमाण भेटिएमा कारबाही भोग्न तयार छु,’ कार्कीले भने ।

सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी पछिल्लो समय तस्करी विवादमा मुछिने क्रम बढ्दो छ । सशस्त्र मात्रै नभएर नेपाल प्रहरी लगायतका निकाय पनि तस्करी र असुली विवादमा मुछिने गरेका छन् । सुरक्षाकर्मीले तस्कर समूहसँग मिलेमतो गरेर अवैध असुली गर्ने गरेको आरोप विगतदेखि नै लागिरहेको छ ।

पछिल्लो समय झापा र सुनसरीबाट अत्यधिक तस्करी हुने गरेको जनगुनासो बढेको थियो । सीमामा हुने तस्करीलाई रोक्नुको सट्टा आर्थिक लाभ लिएर अवैध धन्दालाई सहज बनाइदिएको आरोप सुरक्षा निकायमाथि लागिरहेको हो । अवैध असुली र मौलाउँदै तस्करीका कारण राज्यले उठाउनुपर्ने लाखौं रुपैयाँ राजस्व गुम्ने गरेको छ ।

नेपाल–भारत सीमाबाट विभिन्न वस्तुको अवैध ओसारपसार बढेको र त्यसमा संगठित नेटवर्क सक्रिय रहेको झापाको सीमा क्षेत्रका एक जनप्रतिनिधिले बताए । सुनसरीको सीमा क्षेत्रका अर्का जनप्रतिनिधि पनि नेपाल–भारत सीमा क्षेत्रबाट हुने तस्करी रोक्न सुरक्षा निकाय असफल भएको बताउँछन् । तस्करीका कारण वैध व्यवसायी र कानुनी रूपमा व्यापार गर्ने व्यापारीहरू मर्कामा परिरहेका छन् ।

अर्कोतर्फ सीमाको सुरक्षा प्रणाली र सुरक्षाकर्मीप्रतिको जनविश्वासमा कमी हुँदै गएको छ । आर्थिक अनुशासन, सुशासन र पारदर्शितामाथि बारम्बार प्रश्न उठिरहेको छ । सशस्त्रका प्रवक्ता डीआईजी कार्की सीमा क्षेत्रबाट हुने अवैध गतिविधि र तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाइएको बताउँछन् । ‘सीमा क्षेत्रमा मिलेमतो गरेर अवैध धन्दा चलाउनेहरुले छुट पाउने छैनन्,’ उनले भने ।

तपाइको प्रतिक्रिया
राजदूत नियुक्तिमा ढिलाइ, पुरानैलाई थप जिम्मेवारी
पहिरोले जिप पुरिँदा १३ जनाको मृत्यु
भारत पुगे प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र मन्त्रालयले भन्यो, ‘औपचारिक जानकारी छैन’
सीमामा शरणार्थी चुनौती
सीमामा अब सादा टोली
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा, सभामुखले सम्हाल्नेछन् कार्यभार
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
नेपालको उद्योग क्षेत्रमा लगानी गर्न स्वीट्जरल्याण्ड इच्छुक
नेपालको उद्योग क्षेत्रमा लगानी गर्न स्वीट्जरल्याण्ड इच्छुक
विराटनगरमा गोलाप्रथाद्धारा कर्मचारी सरुवा : वडाध्यक्षहरु असन्तुष्ट, हाजिरीमा रोक
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न दबाब, व्यवस्थापन समितिले थमायो पत्र
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न दबाब, व्यवस्थापन समितिले थमायो पत्र
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×