
रौतहट । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि रौतहटमा कालो मसी प्रहार भएको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित पौडेलमाथि गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सकेर फर्किने क्रममा बिहीबार राति आक्रमण भएको हो । प्रत्यक्षदर्शीका अनुसार कार्यक्रमस्थलबाट बाहिरिने क्रममा पछाडिबाट आएका एक अपरिचित व्यक्ति अँगालो हाल्ने बहाना गर्दै सांसद पौडेलमाथि कालो मसी प्रहार गरेर फरार भएका थिए ।
घटनापछि सांसदका सहयोगी तथा स्थानीयले आक्रमणकारीलाई पछ्याउने प्रयास गरे पनि उनी भाग्न सफल भएका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको थियो ।
रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले सांसद पौडेलमाथि कालोमोसो नभई कालो मसी प्रहार भएको स्पष्ट पारे । उनका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गर्न प्रहरी परिचालन गरिएको । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























