
काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर)को सम्पत्ति दुरुपयोग तथा ठगी प्रकरणमा आठ जना पूर्वपदाधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामध्ये नेपाल बाल संगठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, पूर्वसभापति युरीकुमारी राई, पूर्वकोषाध्यक्ष दीपकदास श्रेष्ठ, पूर्वकोषाध्यक्ष प्रयागराज श्रेष्ठ, पूर्वसभापति भगवान शाक्य तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार रहेका छन् ।
प्रतिवादीमध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य पक्राउ परिसकेका छन् । बाँकी पाँच जनालाई फरार प्रतिवादी कायम गर्दै मुद्दा दायर गरिएको हो । सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार उनीहरूमाथि ठगी कसुरमा अभियोजन गरिएको हो ।
बाल मन्दिरको सम्पत्ति तथा व्यवस्थापनमा भएको अनियमितताका बारेमा छानबिन गर्न उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठन भएको आयोगले २०७७ सालमै सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भने मन्त्रिपरिषद्ले गत चैतमा गरेको थियो ।
सरकारको निर्णयपछि सीआईबीले विस्तृत अनुसन्धान अघि बढाएको थियो । सोही अनुसन्धानका आधारमा आठ जनाविरुद्ध ठगी मुद्दा दायर गरिएको हो ।

























